बसाइँसराइ रोक्न नयाँ रणनीति: घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था

बन्दिपुर, सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुने क्रम बढेका कारण गाउँ रित्तिदै जान थालेपछि यसलाई रोक्न बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ ।
गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् । सचिव माया सुनारका अनुसार वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको हो ।
कोरोना रोगको न्यूनीकरणसँगै घरबासमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकाले थप हौसला मिलेको उनले बताइन् । विशेष गरी उक्त घरबासमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् ।
आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाट्टफुट्ट देखिन थालेको सचिव सुनारले बताइन् । डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताका घरबास रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्