
समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पद र पार्टी दुवैबाट बर्खास्त गरिएको छ। आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले सञ्चार माध्यम लाई जानकारी गराएकाे छ ।
नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।नयाँ नक्सा अनुसार निशान छाप परिमार्जनका लागि सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गराएको थियो । सो विधेयक फिर्ता लिनका लागि सांसद गिरीले जेठ २८ संसद सचिवालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।
सरकारले प्रस्तुत गरेको संशोधन विधेयकमा स्रोत र प्रमाण नखुलाएकाले विधेयकको दफा २ हटाउनुपर्ने माग उनले गरेकी थिइन् । सो प्रस्ताव दर्ता गराएपछि उनको निकै आलोचना भएको थियो । आलोचना भएपछि सांसद गिरीलाई समाजवादी पार्टी संसदीय दलबाट सो विधेयक फिर्ता लिनका लागि उनलाई निर्देशन दिएको थियो । फिर्ता नलिए कारवाही गर्न बाध्य हुने कुरा पनि सोही पत्रमा उल्लेख थियो । तर गिरीले सो विधेयक फिर्ता लिन नमानेपछि उनलाई स्पष्टीकरण सोधिएको थियो । सो स्पष्टीकरणको जवाफ उनले असार १८ गते पार्टीमा बुझाएकी थिइन् । उनले स्पष्टीकरण दिनुभन्दा पनि पार्टीलाई नै प्रश्न गरेकी थिइन् ।
उनले गरेको प्रश्नको जवाफ पार्टीले दिएपछि मात्र उनले पार्टीलाई आफ्नो स्पष्टीकरण दिने भनि पत्रमा उल्लेख गरेकी थिइन् । उनले नक्साबारे संविधान संशोधनका लागि भएको मतदानमा पार्टीका सांसद डा.सूर्यनारायण यादव पनि अनुपस्थित थिए, तर उनलाई किन स्पष्टीकरण नसोधेको भनि गिरीले पार्टीलाई प्रश्न गरेकी थिइन् । संसद सचिवालयमा दर्ता गराएको प्रस्ताव फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले सांसद गिरीलाई पत्र पठाएका थिए । त्यो पनि वैधानिक नरहेको सरिता गिरीले आफ्नो पत्रमा दावी गरेकी स्रोतले जनाएको छ ।
पत्र लेख्नुभन्दा पनि संसदमा छलफल हुनुपर्छ, दलमा कुनै निर्णय नै नगरिकन के कति कुन आधारमा पत्र पठाएको भनि प्रश्न गरेको पार्टी स्रोतले जनाएको छ । त्यस्तै आफूलाई स्पष्टीकरण सोधेको पार्टीको निर्णय नै वैधानिक नरहेको समेत उनले दावी गरेकी थिइन् ।






