July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

गृहसचिव महेश्वर न्यौपानेद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन

काठमाडौं, गृहसचिव महेश्वर न्यौपानेले बुधबार प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा भ्रमण गरेका छन् । सोही अवसरमा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगति सम्बन्धी जानकारी लिनुको साथै उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधन समेत गरेका हुन् ।

कार्यक्रममा गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गरेका छन् भने उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सात वटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन् । उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ-आफ्नो क्षेत्रमा तस्कारी नियन्त्रण एवम् राजश्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए ।

निरीक्षण पश्चात गृहसचिव न्यौपानेले प्रहरी प्रधान कार्यालयमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी कर्मचारीहरुले आफ्नो आचरण एवम् अनुशासनप्रति संवेदनशील भई पूर्ण ईमानदारिताका साथ आफ्नो प्रतिवद्धतामा नडगमगाई जिम्मेवारी वहन गर्न निर्देशन दिए ।

यस्तै उनले नेपाल प्रहरी संगठनको सुदृढिकरण र शुद्धिकरणमा गृह मन्त्रालय सदैव दृढ एवम् क्रियाशील रहेको चर्चा गर्दै प्रहरीका कार्यालयहरुको गतिविधि अनुगमन तथा कारवाही प्रकृया बढाउनुपर्ने जरुरी रहेको उल्लेख गरे ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको गृह प्रशासन सुधार योजना कार्यान्वयनको साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धि लगायतका कार्य योजनामा प्रहरी संगठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्ने बताए ।

गृहसचिव न्यौपानेले प्रहरी संगठन सुधार, भौतिक पूर्वाधार निर्माण, वृत्ति विकास लगायतका विषयमा गृह मन्त्रालयले छलफल अगाडि बढाएको चर्चा गरे । यस वर्ष जस्तै आउँदो वर्ष पनि बेरुजु फर्छ्‍यौटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रीत गरी टिम बनाई थप सक्रियताका साथ लाग्नुपर्नेमा उनले जोड दिएका छन् ।

सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण समसामयिक र सान्दर्भिक निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोध सहित कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले आफ्नो क्षमता प्रदर्शन भन्दा पनि ईमानदार भई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको