
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको आन्तरिक विवाद मिलाउन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार घनीभूत छलफल भएको छ । पार्टी एकता कायम गरी नयाँ आधार खोजेर अगाडि बढ्न दुई जना अध्यक्षको बीचमा छलफल भएको हो । नेकपामा विकसित घटनाक्रमबारे दुई जना अध्यक्षबीच खुलस्त रूपमा कुराकानी भयो, पार्टी फुट्न नदिन दुवैले प्रयास गर्ने र त्यसबारे थप छलफल सोमबार गर्ने भन्दै बैठक सकिएको छ, बैठकमा सहभागी स्थायी कमिटी सदस्य जनार्दन शर्माका अनुसार अध्यक्षद्वयको भेटवार्ता सकारात्मक भएको छ । दुवै अध्यक्षको सहमतिमा सोमबारका लागि पनि बैठक राखिएको छ ।
सोमबार स्थायी कमिटीको बैठक बस्नुअघि दुवै अध्यक्षको बीचमा पुनः छलफल हुन्छ । ’’ विभिन्न सातवटा कार्यसूची तय गरी त्यसैमा छलफल गर्नका लागि असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक सुरु भएको थियो । नक्सा र सीमा विवादको विषयमा दुई दिनसम्म बैठकमा छलफल भयो । छलफल चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको आफूूलाई भारतको इशारामा हटाउन लागेको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा (एमाले) पार्टी दर्ता गराउन परेको निवेदनको विषयले प्रवेश पाएसँगै बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन । बैठककै क्रममा मन्त्रिपरिषद्ले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि स्थायी कमिटीको बैठक नै प्रभावित भयो ।
बैठक चल्दाचल्दै आएको त्यो निर्णयका कारण बैठक नै स्थगित भयो । दुवै अध्यक्षको बीचमा छलफल भएपछि असार १९ गतेका लागि बैठक बोलाएको थियो तर अध्यक्षहरूको बीचमा गृहकार्य नभएका कारण सो बैठकलाई २२ गतेसम्मका लागि सारिएको थियो । बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री निवासमा दुवै अध्यक्षका बीच महìवपूूर्ण छलफल भएको हो । सो छलफलमा पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्यहरू ईश्वर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुनको समेत उपस्थिति थियो । सहभागी ती चार नेताले समेत पार्टी एकतालाई जसरी पनि बचाउनुपर्छ भन्ने शीर्ष नेताहरूलाई सुझाव दिएका थिए ।







