August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

चुनाव हुँदा लोकतन्त्रको आयु डेढ दुई वर्षमात्रै हो त?: प्रधानमन्त्री ओली 

file photo

काठमाडौं, प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताएका छन् ।

शनिबार एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई भृकुटीमण्डपमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूले त्यो पालना नगरेको बताएका हुन् ।

‘विधि र पद्धतिका कुरा गर्ने तर बाहिर बाहिर हस्ताक्षर गरेर, विधि र पद्धति भन्या के हो ? पार्टीको बैठक बस्या छैन अध्यक्ष निकाल्या रे । दलको नेता फेर्‍या रे, बैठक बस्या छैन,’ ओलीले नेता नेपालतर्फ संकेत गर्दै भने, ‘अर्को एक जना अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए । अध्यक्ष भए अरे ।’


संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक कदम सर्वोच्च अदालतले खारेज गर्दै संसद पुनःस्थापना गरेपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले चितवनमा खुसीयाली मनाएका थिए । त्यसबारे ओलीले भने ‘सानो कुरा पायो कि दंग, फुरुङ्ग, अबीर जात्रा, लड्डु । मैले भने केका लागि खुसी भएका हुन् यिनीहरू ? केका लागि अबिर जात्रा ? के पाए ? के पाउँछन् ?,’ उनले त्यो कदम आन्दोलन बर्बाद पार्ने, आन्दोलनको नेतृत्व, पार्टी र देशलाई बर्बाद पार्ने भएको बताए ।

ओलीले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्दा लोकतन्त्र मासिन्छ भनेको तर अबको डेढ-दुई वर्षमा चुनाव हुँदा लोकतन्त्रको आयु डेढ दुई वर्षमात्रै हो त ? भनेर प्रश्न गरेका थिए । उनले त्यस्तो कुरा गर्नेहरू नक्कली लोकतन्त्रवादी भनेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको