July 29, 2021, Thursday
२०७८ श्रावण १४, बिहीबार

त्यो शिवरात्रि जसको कारण जिवनले फरक मोड लियो- जनक सापकोटा

म कक्षा मा ९ पढ्दै थिए,पढाइ पनि राम्रो नै चलिरहेको थियो।विद्यालयमा अनुशासित ,लगनशील ,मेहनति विद्यार्थी भन्नासाथ मेरो नाम अगाडि आउथ्यो।विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा मेरो सहभागीता हुने,नेतृत्व लिएर कार्यक्रम गर्ने अनि प्रतिस्पर्धामा सधै अग्रपक्तिंमा म पर्दथे।समाजमा हुने विकास निर्माणको काममा म निकै चासो राख्दथेँ ।मेरो बुबा सामाजिक क्रियाकलापमा सहभागी हुने हुदाँ त्यसको प्रभाव म मा परेको थियो ।

आफ्नो गाउँठाउँको विकास गर्नुपर्छ ,जन्मभुमिलाई केही दिनुपर्छ,जीवनको केही समय भएपनि समाज सेवामा खर्च गर्नुपर्छ भन्ने बुबाको विचारबाट म निकै प्रभावित थिए।हल्का राजनीति मा पनि म चासो राख्न सुरु गरेको थिए ।त्यतिबेला गाउँघरमा चुनावको चहलपहल निकै थियो।हाम्रो पार्टीमा नै भोट हाल्नुपर्छ भन्दै छिनछिनमा फरक फरक दलका उम्मेदवारले घर भरिन्थ्यो।बुझिनबुझि भए पनि फलानो पार्टी जिन्दावाद ,फलानो पार्टी मुर्दावाद भन्दै नारा लगाउन खुब मज्जा आउथ्यो।

चुनाव जित्नको लागि राजनीतिक दलले युवालाई उत्तेजित गराउन भ्याए र सकेसम्म खर्च गर्दथे सो खर्च विकास निर्माणमा नभई धुम्रपान मद्यपान,लागुपदार्थ हुन्थ्यो ।बेरोजगारि व्यक्तिले भरिएको तर थलिएको मेरो गाउँमा जुन पार्टीले एक छाक खुवाउन सक्थे धेरै युवा उहीँ पार्टीको हुन्थे ,भोको पेट भर्नको लागि यो भन्दा उपयुक्त विकल्प पनि त थिएन।`मौकामा चौका हान्नुपर्छ´ भन्दै साथिहरु खुब उत्तेजित हुन्थे अनि कहिले कुन पार्टी त कहिले कुन पार्टीको पछि लाग्थे।राजनीति बाट समाज परिवर्तन गर्ने जोस मसगँ भर्खर उम्रदै थियो।

एकातिर हिन्दुहरुको चाड महाशिवरात्रि जुन सबैको लागि खास हुन्थ्यो अझ युवा वर्गको लागि त यो दिन वरदान जस्तै हुन्थ्यो ।घर ,समाजमा अघिपछि भन्दा शिवरात्रिमा धूमपान ,लागुपदार्थ सेवन गर्न अल्लि खुकुलो हुन्थ्यो ।कसैले चुरोटको धुलो र काचो भाँगोको धुलो मिसाएर चुरोटको वा कागजको खिल्लीमा राखि सरररर तानेर धुवाँ वायुमण्डलमा फ्याक्थे।

कोहि धतुरो खाएर दिउँसो नै अनेकौ सपना देख्थे धतुरो खाएका मानिसको क्रियाकलाप हेर्न मज्जा आउथ्यो।कोहि केटाहरुले त थाशा नै नदिई खिर ,चियामा हालेर खुवाइदिन्थे,यसको बढ्दा सिकार म जस्ता युवा हुने गर्दथे। २०५४ साल फागुन महिना एकातिर सविधान सभाबाट बनेपछि हुने पहिलो चुनावको रोनकता र अर्कोतिर महाशिवरात्रिको तयारि भईरहेको थियो।फागुन १ गते म बिहानै उठेर घरको कौसिमा बसेर पुस्तकहरु पढ्दै थिए।यत्तिकैमा एउटा साथिले बोलायो ओए, आज शिवरात्रि तँलाई थाहा छैन क्या हो ?? यो प्रश्नको जबाफ दिन नपाउँदै भान्साबाट बाहिर निस्केर आमाले साथिलाई भन्नुभयो ,` किन चाहियो शिवरात्रि ?कहाँ जानू छ हँ एका बिहान बोलाउन आएको छौ,कँहि जादैन है हाम्रो छोरो आमाले यति भनेपछि म खासै बोलिन ।

साथिलाई इशाराले आफु भएतिरै बोलायो।आमा भान्सा कोठातिर नै छिर्नुभयो घरमा बुबा ,दाइ ,दिदी पनि आफ्नै काममा व्यस्त थिए।साथिले मलाई गाजाँको एउटा पोको र एकबट्टा चुरोटको प्याकेट देखायो र भन्यो ‘`आज चाहिँ चाख्नुपर्छ ल केटो शिवजिको प्रसाद भन्दै मन्दिरमा भेट हुन वाचा दिई घरबाट निस्क्यो ।मलाई पनि एक सर्को धुवाँ तानेर फ्याक्नु रहर पलायो अनि वन काफल खान जाने निहुँमा घरबाट निस्किएर मन्दिर तिर लागेँ।मन्दिरमा सबै साथिहरुको भेट भयो ,केटाहरुले चुरोटको खिल्लीमा गाजाँ भर्दै थिए ।एक एक सर्को तान्दै मज्जा लिन थाल्यौ,सुरुमा अलिक धेरै भएछ क्यारे शरिरले थेग्न सकेन ।म त जनतन घरमा गएर घर परिवार सगँ बिरामि भएको नाटक गरेर सुतेँ साथिहरु कहाँ कहाँ गए केही पत्तो नै भएन।

भोलिपल्ट बिहान करिब ९ बजे उठेँ अघिल्लो दिनको चिलिमको स्वादको खुब याद आयो फेरि खाने इच्छा जागेर आयो।चुनावी प्रचारमा दिउँसो निस्कने गज्जबको वहना थियो ,सबै केटाहरु जम्मा भएका थिए।पार्टीले खर्चपानी दिन्थ्यो।चुनाव प्रचारप्रसार को साथमा शिवजिको प्रसाद दिनँहु चाख्न थालियो विस्तारै लत बस्यो १ वर्ष पछि त मलाई गाजा नभई नहुने अवस्था भयो।परिवरका सदस्य पनि आजित हुन थाले ।विद्यालयमा पनि हरेक कार्यक्रममा निष्क्रिय हुँदै गए भने समुदायप्रति कुनै चासो न‌‌ै लाग्न थाल्यो। कक्षा १० को परिक्षाफल पनि कमजोर आयो।

राजनीति बाट समाज परिवर्तन गर्ने सपना पनि चकनाचुर भयो। त्यो शिवरात्रि जुन दिनबाट म लागुपदार्थको साथि भए अनि जिवनको लक्ष्य र सपनाहरु बिस्तारै टाडिदै गए।स्वास्थले साथ दिन पनि थाल्यो,दिनदिन श्वासप्रश्वास लगायत अन्य समस्या देखा पर्न थाल्यो ।म अस्पताल भर्ना भए स्वास्थ अवस्था सुधार भएपछि मलाई सुधार गृह पठाइयो म विस्तारै पुरानै अवस्थामा फर्कन थाले फेरि केहि सपनाहरु देख्न थाले।मैले सोचे कि म जस्ता युवाले केवल धुवाँ तानिरहेका छ‌नन धुवाँ फ्याक्दा सपनाहरु र जिम्मेवार पनि वायुमण्डलमा फ्याँकिरहेका रहेछन।जीवनको त्यो कालो समय जुन चाहेर पनि कुनै युवाको जीवनमा नआओस ,सपनाहरु टुट्न नपाउन,परिवार र समुदायको आश र भरोसा माथि गद्दार गर्ने वातावरण सिर्जना नहोस।सङ्गतले भन्दा धेरै युवाहरुलाई मनभित्रको रहर र बाहिरको हल्लाले बिगार्ने गर्छ।हाम्रो जस्तो देशमा बेरोजगारी युवाको जनशक्ति धेरै छ ,परिणाम युवा यस्ता काममा समय बर्बाद गर्न बाध्य छन ।

शिवरात्रि हाम्रो चाड हो तर यसको नाममा अनावश्यक लागुपदार्थ र धूमपानको प्रयोग गर्नु गलत हो। एक शिवरात्रि जिन्दगीको खराब मार्ग बन्न सक्छ जसले सहि गन्तव्यमा लैजान सक्दैन।हाम्रा सपनाहरु केही छिनमा चकनाचुर बन्न सक्छन,बुबा आमा परिवार र समुदायको आश र भरोसा तह गुम्न सक्छ।बल्ल बल्ल पाएको हिरा जस्तो जीवन नर्कको जुनि जस्तो बन्न सक्छ।त्यसैले शिवरात्रिको नाममा अनावश्यक चुरिफुरि र सर्को तान्नको लागि रहर नगरौ।

हाम्रो स्वास्थ हाम्रो लागि महत्त्वपूर्ण छ,हामी परिवारको लागि महत्त्वपूर्ण र परिवार समाजको लागि महत्त्वपूर्ण हु्न्छ। शिवरात्रिको नाममम कुलत र दुव्र्यसनी बाट आफू पनि बचौ र अरुलाई पनि बचाउ।

शीर्ष समाचार

धेरै पढिएको