August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

महाशिवरात्रीको महत्व र व्रतकाे फल:शिवरात्री विशेष

मंदारमाला कुलितालकायै कपालमालांकृत शेखराय। दिव्याम्बरायै च दिगम्बराय, नमः शिवायै च नमः शिवाय। हिन्दु धर्मालम्बीहरुको लागि विभिन्न चाडपर्वमध्ये महाशिवरात्रि पर्व एक महान पर्व हो । फागुन कृष्ण चर्तुदशीको दिन मनाइने यस वर्षमा देशभरका शिबमन्दिरहरुमा पूजाआजा गर्नेहरुको ठूलो भीड लाग्ने गर्दछ । यस दिन दिनभर व्रत बसेर रातमा जागा बस्ने प्रचलन छ ।यसो गर्दा भगवान शिव प्रसन्न हुने र शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी–नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्त हुने जनविश्वास रहिआएको छ ।

शिवरात्रीमा व्रत बस्नाले ठूलो फल प्राप्त हुने मान्यता पनि छ । शिवजीलाई प्रशन्न बनाउन अविवाहित नारीहरु पनि बर्त बस्ने गर्दछन् । शिवरात्रीको दिन भगवान शिव र पार्वतीको बिहे भएकोले पनि यस दिनलाइ विशेष महत्वका साथ लिने गरिन्छ । हाम्रो समाजमा रहेका मठमन्दिर मध्ये शिवको मन्दिरहरु धेरैनै रहेका छन् । शिवका बिभिन्न स्वरुप र अदभूत शक्तिले गर्दा पनि अन्य देवताहरु भन्दा शक्तिको प्रतिकको रुपमा शिवलाई मानिदै आएको छ ।

शिवको पूूजा,उपासाना बिशेष गरि तीज, श्रावण महिना, माघे संक्रान्ति रमहाशिवरात्रीमा गर्ने गरिन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । महाशिवरात्रीका दिन भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा,अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्दछन् ।

महाशिवरात्रीको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गर्ने गरिन्छ । शिवरात्री पर्वलाई हिन्दु समुदायमा बिशेष आस्था,बिस्वास र महत्वका साथ मनाउने गरिन्छ । शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । यस दिनको मूख्य विशेषता भनेको कठोर उपबास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । भगवान शिवका सच्चा भक्त त्यो हो जस्ले शिवरात्रीको रातमा गहिरो साधना तथा उपबास बसी जागरण गर्दछ । भगवानलाई पूजा गर्न चढाइने फूलहरु, बेलपत्र तथा अन्य फलफूलहरु हुन्छ जुन सबै शिव लिंगमा चढाइन्छ । त्यस्तै प्रकारले दुध, दही, घ्यु नरिवलको पानी, नौनी तथा महले भगवान शिवलाई स्नान गराइन्छ । महाशिवरात्रीको दिन परम्परा अनुसार सबेै भक्तजनहरु सबेरै नुहाइ धुवाइ गरी भगवान शिवको पूजा आराधना गर्दछन् । सकेसम्म विभिन्न पवित्र नदीहरुमा गएर पूजा गर्दछन । पबित्र नदीको जल घडामा भरेर ल्याई भगवान शिवको लिंगमा चढाउँछन् तथा भगवान बिष्णु र सूर्य को पनि पूजा आराधना गर्दछन् । हिन्दु शास्त्र अनुसार यस दिनको महत्व तथा विशेषता अत्यन्त ठूलो छ । यस दिन भक्तजनहरुले कसैले दूध पनि चढाउँछन ।

हिन्दु पुराणअनुसार महाशिवरात्रीको दिन विधिपूर्बृक पूजा गर्दा विभिन्न फल प्राप्त हुन्छ भनिन्छ । फागुन कृष्ण चतुर्दशीका दिनमा स्नान गरी शुद्ध मनले निराहार बसी रातभर जागा बसेर भगवान महादेवको पूजा आराधना गरेमा सबै कार्य सिद्ध हुन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनुहुन्छ र उहाँ प्रसन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । मिसएिको बिकृति पनि बिहानैदेखि नशालु पदार्थ सेवन गर्ने एकआपसना झैझगडा गर्ने जस्ता क्रियाकलाप हाम्रो समाजमा ब्याप्त छ । एकदिन गरिएको रमाइलोले कतिपय युवापुस्ता कुलतको सिकार बन्न पुगेका छन एस्ले पछिसम्मको लागि नकारात्मक असर पारेको छ ।

हाम्रो समाजमा धेरै युवायुतीहरु नसालु पदार्थको सिकार भएर आज त्यहि नसालु पदार्थ बिना बाच्न नसक्ने अबस्थामा पुगेका धेरै घटनाहरु हाम्रो समाजमा जनजायत छन् । शिव भगवानको प्रसादको रुपमा प्रयोग हुने बिभिन्न नसालु पदार्थ हामिले जति सार्बजनिक रुपमै खुलमखुल्ला प्रयोग गरिरहेका छौ त्यतिनै मात्रामा हाम्रो समाजका धेरै युवापिडिहरु कुलतमा फस्ने र समाजमा बिभिन्न अपराधिक क्रियाकलापहरुमा बढ्ने सम्भावना धेरै हुन्छ।

शिबरात्रीको अवसरमा धार्मिक मान्यता देखाएर नशालु पदार्थको अत्याधिक सेवन गर्ने, समाजमा होहल्ला गर्ने जस्ता बिकृतिजन्य क्रियाकलाप नगरौ । सहि राम्रो पक्षलाई सबैले आत्मासाथ गरेर पर्व मनाऔं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्। सदा बसन्तं हृदयारबिन्दे भबं भवानीसहितं नमामि।।

याद गरौँ, गाँजा र भाङ्ग जस्ता नशालु पद्धार्थको एक पटक मात्रको प्रयोगले पनि हाम्रो मानसिक, शारीरिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर निम्त्याउन सक्छ । सचेत बनौं, सचेत बनाऔं । हिन्दू धर्मवालम्बीहरूहरूको महान चाड शिवरात्रीका उपलक्ष्यमा समस्त आमा बुबा दाजुभाइ तथा दिदीबहिनीहरूमा शिवरात्रिको शुभकामना व्यक्त गर्दै सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।

शीर्ष समाचार

धेरै पढिएको