April 20, 2021, Tuesday
२०७८ बैशाख ७, मंगलवार

म न्यायको लागि अदालतमा जान्छु: कोमल वली

काठमाडौं, नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक टीका टिप्पणी गरेको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् । 

हाल पार्टीको कामका कारण दाङमा व्यस्त रहेकी वलीले काठमाडौं आएपछि अदालत जाने बताएकी हुन् । नेता पन्तले निच अभिव्यक्ति दिएको पनि उनले बताएकी छन् ।

उनले भनिन्, ‘म अहिले दाङमा छु । उहाँले जसरी कोमल वलीले ‘सारी सर्काएर पिडौंला देखाएर पोइला जान पाम भनेपछि सांसद पद पाएको’ भन्नु भएको छ, यो उहाँको निच अभिव्यक्ति हो । उहाँले ममाथि मात्र होइन सफलता प्राप्ते महिलाका विषयमा जुन किसिमको अभिव्यक्ति दिनुभयो, त्यो आपत्तिजनक छ, साथीभाइहरुसँग सरसल्लाह गर्दैछु । भोलिसम्म दाङमै व्यस्त छु । पर्सी काठमाडौंमा आइसकेपछि मेरो वकिलसँग सरसल्लाह गरेर कानुनी प्रक्रियामा जाने विचार गरेको छु । म न्यायको लागि अदालतमा जान्छु ।’

पन्तले पार्टीमा लामो योगदान दिएका नेतृहरुले राष्ट्रियसभा सदस्य र केन्द्रीय सदस्य नपाएको तर वलीले दुवै पद पाएको बताएका थिए । राजधानीमा शनिबार आयोजित कार्यकर्ता भेलामा पन्तले ‘कोमल वलीले सारी सर्काएर गोरा पिँडुला देखाएर पोइला जान पाम् भनेपछि सांसद’ भएको टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिको खण्डन गर्दै वलीले लामो फेसबुक स्टाटस लेखेकी थिइन् । रघुजीको अभिव्यक्तिमाथि सामाजिक सञ्जारतिर पनि चर्को आलोचना भैरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको