March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु, चिकित्सकले लापरवाही गरेको आफन्तको आरोप

प्युठान, प्यूठानमा एक सुत्केरी महिलाको गएराति मृत्यु भएको छ । झिमरुक गाउँपालिका-७ तुसारा निवासी २४ वर्षीया अनिसा एमसीको मृत्यु भएको प्यूठान अस्पतालले जनाएको हो ।

उक्त महिलालाई उपचारका लागि बुटवल लैजाने क्रममा गएराती बाटोमै मृत्यु भएको अस्पतालका निमित्त प्रमुख खिम पार्धेले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

बिहिबार प्यूठान अस्पतालमा अनिसाको शल्यक्रियाबाट सुत्केरी गराइएको थियो । स्वास्थ्यमा थप समस्या आएपछि शनिबार पुनः शल्यक्रिया गरिएको पार्धेले जानकारी दिए ।

उनका अनुसार शल्यक्रियापछि पनि समस्या बढ्दै गएपछि बुटवल रिफर गरिएको र दाङको भालुवाङमा पुग्दा मृत्यु भएको खबर आएको हो । जन्मिएको शिशु (छोरा) भने सकुशल रहेका छन् ।

मृतकका आफन्तले चिकित्सकको लापरवाहीले गर्दा मृत्यु भएको आरोप लगाएका छन् । मृतकका श्रीमान सुदन थापाले शल्यक्रियापछि समस्या देखिएसँगै जिल्ला बाहिर लैजान खोज्दा चिकित्सकले केहि हुँदैन भनेको प्रतिक्रिया दिएका छन् ।

उनले अन्तिम समयमा बुटवल रिफर गरिदिएको बताए । हाल मृतकको शव अस्पतालमा राखिएको छ भने अस्पताल परिसरमा मानिसहरुको भीड जम्मा भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको