July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

तमासामा लोकततन्त्र कमजोर हुन्छ, संविधानको सही कार्यान्वयन होइन: प्रधानमन्त्री ओली

विराटनगर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरे गठजोडको सरकार बन्ने दाबी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शनिबार विराटनगरमा गरेको सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना भए एकल पार्टीको बहुमतको सरकार नरहने बताएका हुन् । उनले भने, ‘कथमकदाचित पुन:स्थापना भए के गर्ने भन्दा अब बहुमतको सरकार रहेन । बहुमतको सरकार रहँदैन । त्यसो भएपछि विभिन्न गठजोड गर्नका लागि फेरि उही सांसद किनबेच, दलहरूका बीचमा मोलतोल, फेरि समीकरण, फेरी सरकार ढलाउ, फेरि सरकार बनाउ फेरि त्यै खेलमा आगामी डेढ-दुई वर्ष त्यसैमा समाप्त हुन्छ ।’

प्रतिनिधिसभा पुनःस्थपानापछिका सरकारले मुलुकलाई विकासको बाटोमा लिन नसक्ने प्रधानमन्त्री ओलीको दाबी थियो । उनले थपे, ‘फेरि त्यो फोहोरी खेल, तमासामा लोकततन्त्र कमजोर हुन्छ । संविधानको सही कार्यान्वयन हुँदैन ।’

प्रधानमन्त्रीले भने, ‘सम्मानित सर्वोच्च अदालतले कुनै हिसाबले, कसैका दबाबमा, कुनै अवाञ्छित या दबाबका दुष्प्रयासमा कुनै अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिँदैन । म भन्न चाहन्छु, हामी अब चुनावको तयारीमा छौं, चुनावतर्फ जाँदैछौं ।’

मुलुकलाई अस्थिरतातर्फ फर्काउन नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले सर्वोच्चले प्रतनिधिसभा पुनःस्थापना गरे अस्थिरता हुने धारणा राखेका हुन् ।

उनले भने, ‘सम्मानित सर्वोच्च अदालतले देशभरी भइरहेका यस्ता सभाहरूलाई हेरेको होला । यस्ता सभाहरूबाट प्रकट भएको जनताको अभिमत हेरिरहेको होला । संविधानको मर्म र भावना हेरेको होला । त्यसपछिका परिणतिहरू र मुलुक कता जान्छ भन्ने कुराको विश्लेषण गरेको होला ।’

शीर्ष समाचार

धेरै पढिएको