August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रधानमन्त्री ओली र कोप–२६ टोलीबिच भेटवार्ता 

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतको ग्लास्गोमा आयोजना हुने मौसम परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीबीच भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा आज भएको उक्त भेटमा टोलीले नेपालको मौसम परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुका बारेमा प्रधानमन्त्रीसँग जिज्ञासा राखेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रेस सल्लाहाकार थापाका अनुसार यसबारे अध्ययन गर्न कोप–२६ इच्छुक रहेको समेत टोलीले प्रधानमन्त्री ओलीसँग बताएको थियो ।


मौसम परिवर्तनसम्बन्धी विषयलाई सम्बोधन गर्न नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको टोलीले बताएको थियो ।

यसका लागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी प्रधानमन्त्रीसमक्ष टोलीका प्रमुख शर्माले राखेको प्रेस सल्लाहाकार थापाले जानकारी दिए ।

नेपालले कार्बन उत्सर्जन कम गर्न सन् २०३० देखि २०५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाइ टोली प्रमुख शर्माको थियो ।

शीर्ष समाचार

धेरै पढिएको