March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

मकवानपुरमा फर्जी उपभोक्ता बनाएर चार लाख ७९ हजार हिनामिना

हेटौंडा, मकवानपुर जिल्लाको तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर मगरले फर्जी उपभोक्ता बनाएर रकम हिनामिना गरेको तथ्य बाहिरएको छ । पालिका अध्यक्षले नै दलाल सप्लायर्ससँग समन्वय गरी पालिकाको रकम हिनामिना गरेको पाइएको हो ।

गाउँसभाबाट २०७७ असार २८ मा स्वीकृत गरेको गाउँपालिकास्तरीय योजनाको १९९ क्रमसङ्ख्या शीर्षकको रकम हिनामिना गरेको तथ्य बाहिरिएको छ ।

उपभोक्ताहरुले सिमेन्ट र पाइप माग गर्न जाँदा रकम नभएको थाहा हुन आएपछि उपभोक्ताले खर्च भएको शीर्षक देखाउन आग्रह गरेका थिए तर पालिकामा बासोबास नै नगर्ने व्यक्ति, नाम, थर र ठेगानासमेत परिवर्तन गरी माग फारम भरेर रकम निकासा गरेको पाइएको छ ।

पालिकामा बस्दै नबस्ने व्यक्तिका नाममा समेत सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर अध्यक्ष नै रकम हिनामिनामा संलग्न भएको स्थानीयवासी यतिराज तिमल्सिनाले बताएका छन् ।

उनले भने, “गाउँपालिका अध्यक्षले यतिराज पहाडी, तीनपाटन–१० सालुकेको नाममा माग फारम भराएर सिमेन्ट तथा पाइप बुझेको पनि भर्पाइ बनाउनुभएछ ।” यद्यपि यतिराज पहाडी नाम गरेको व्यक्ति यहाँ नरहेको तथा वडा नं १० मा सालुके भन्ने ठाउँसमेत नपर्ने उनको भनाइ छ ।

सबै फर्जी उपभोक्ता बनाएर सिमेन्ट, पाइप बुझेको भर्पाइ बनाएर रकम हिनामिन भएको र सो रकम अध्यक्षले फिर्ता गर्नुपर्नेसमेत उनले बताएका छन् ।

“अध्यक्षले यसरी फर्जी उपभोक्ता बनाएर दुलाल सप्लायर्ससँग फर्जी बिल मागेर रु चार लाख ७९ हजार ७४१ हिनामिना गरेका प्रष्ट देखिन्छ”, उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको