
कोभिड- १९ का कारण लामो समय लकडाउन भएपछि शैक्षिक गतिविधि बन्द भएको अवस्थामा सिन्धुपाल्चोकका विद्यालयहरूले विद्यार्थीका घरघर पुगेर शिक्षण गराउन थालेका छन् । जिल्लाभरका दजनौँ विद्यालयले विद्यार्थीका घरमा पुगेर समूहगत रुपमा पढाउन थालेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका-३ धुस्कुनस्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयका शिक्षकहरू घरघर पुगेर पढाउन थालेका छन् । उनीहरूले विद्यार्थीलाई घरमा पुगेर समूहसमूहमा शिक्षण गराउन थालेका छन् ।
अभिभावक राखेर विद्यार्थीलाई पढाउन थालेका छन् । दुई साताअघिबाट शिक्षकहरूले घरघरमा गएर पढाउन थालेका हुन् । बाह्रबिसे नगरपालिका-९, सागबारीको सेतीदेवी आधारभूत विद्यालयका शिक्षकहरू पनि घरदैलोमा पुगेर विद्यार्थीलाई पढाउन थालेका छन् । एक सातादेखि शिक्षकहरूले घरमा नै पुगेर शिक्षण गराउन थालेका हुन् । सामाजिक दूरी कायम गरी शिक्षण गराउन थालिएको शिक्षकहरूले जानकारी दिएका छन् । महेन्द्रप्रताप माविका शिक्षक रवीन्द्र श्रेष्ठले लामो समय भएका कारण विद्यार्थीहरू शिक्षणप्रति रुचि हराउने भएका कारण विद्यार्थीलाई सधैँ पढाइमा ध्यान पुर्याउन घरघरमा गएर पढाउन थालेको जानकारी दिनुभएको छ ।
विद्यार्थी सिकाइमा समस्या नहोस् भनेर लकडाउनमा पनि घरघरै गएर पढाउन थालिएको उहाँको तर्क छ । ‘लकडाउनका कारण विद्यार्थीहरू घरायसी र अन्य काममा व्यस्त हुदाँ शिक्षणप्रति चासो हराउन थालेको पायौँ,’ शिक्षक श्रेष्ठले भन्नुभयो, ‘हामी घरमा नै पुगेर पढाउन थालेपछि विद्यार्थीले पढाइमा रुचि देखाएका छन् । हामी घरघर पुगेर पढाउन थालेपछि विद्यार्थीहरू उत्साहित भएर शिक्षण व्यस्त हुन थालेका छन् ।’ विशेष गरी कक्षा ९ र १० का विद्यार्थीलाई प्राथमिकतामा राखेर शिक्षण गराउन थालिएको छ ।
कक्षा १० मा अध्ययनरत छात्रा बिनिता रिसालले भन्नुभयाे, ‘घरमा नै आएर सरहरूले पढाउन थालेपछि सिकाइमा सहज भएको छ ।’ अर्का छात्र रमेश तिमल्सिनाले भन्नुभयाे, ‘स्कूलमा जस्तै गरी सरहरूले पढाउनुहुन्छ, हामी पनि पढाइमा उत्साहित भएका छौँ ।’ गाेरखापत्र बाट





