March 2, 2021, Tuesday
२०७७ फाल्गुन १९, बुधबार

खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि तालिम बिरगंजमा सम्पन्न

  • 19
    Shares

बिरगंज, स्वच्छता तथा गुणस्तर सम्बन्धि अन्तरक्रिया तालिम बिरगंजको होटेल बिस्वामा आज सम्पन्न भएको छ ।

खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय बिरगंजको आयोजनामा तथा होटेल व्यवसायी संघ पर्साको सहकार्यमा बिरगंज महानगरमा रहेका होटेल, रेस्टुरेन्ट, क्यान्टिन, भोजनालय तथा मिठाई पसलहरुलाई खाद्य स्वच्छता कायम गर्नका लागि पालना गर्नुपर्ने आवश्यक मापदण्डहरुकाबारेमा खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय बिरगंजका कार्यालय प्रमुख बिक्की राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यालय प्रमुख राउतको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, बिशिस्ट अतिथिमा नेपाल पत्रकार महासघ प्रदेश २ का सदस्य जगत राई, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल, घरेलु तथा साना उद्योग कार्यालय बिरगंजका अशोक पाण्डे, होटल व्यवसायी संघ पर्साका अध्यक्ष दिपकमान श्रेष्ठ, सञ्चारमन्त्री, होटेल, रेस्टुरेन्ट र मिठाई पसलका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

सो कार्यपत्रमा होटेलको वरपरको वातावरण सफा राख्ने, खाद्य बस्तु तयार गर्दा पिउन मिल्ने सफा प्रशोधित पानीको प्रयोग गर्ने, पानी भण्डारण ट्याङ्कीको नियमित सरसफाइ गर्ने, खानालाई नपाकुन्जेलसम्म राम्ररि पकाउने, तातो खानालाई ६० डिग्री सेल्सियस भन्दामाथि र चिसो खानालाई ५ डिग्री सेल्सियस भन्दा तल भण्डारण गर्ने, मांसाहारी र शाकाहारी तथा पाकेको र काँचो खानालाई छुट्टाछुट्टै भाडामा भन्डारण गर्नेबारे जानकारी गराइएको थियोे ।

यस्तै शाकाहारी र मांसाहारी, काँचो र पाकेको खानाको लागि बेग्लाबेग्लै रङ्गको चपिङ्ग बोर्ड तथा चक्कुको प्रयोग गर्ने, सफा लुगा र एप्रोनको प्रयोग गर्ने, हेयर क्याप, माक्स, जुत्ता कभर, पन्जा आदिको प्रयोग गर्ने खाना छुनुभन्दा अघि वा पछी, शौचालयको प्रयोगपछी, नाक कान छोएपछी र खोकेपछी साबुन पानीले राम्ररि हात धुने, घाउ तथा पोलेको चोटहरुमा पानी प्रतिरोधात्मक घाउ टेपको प्रयोग गर्ने, बिरामी भएको बेला भान्छामा काम नगर्ने र खानेकुरा नचलाउने, भित्ता तथा भई सफा गर्ने र भाडाकुडा औजार सफा गर्ने कपडा बेग्ला बेग्लै र सफा हुनुपर्ने जस्ता महत्त्वपूर्ण विषयमा जानकारी गराइएको थियो ।

यसैगरी उक्त कार्यक्रममा गिलो तथा सुख्खा फोहोरका लागि बेग्लाबेग्लै ढ्क्कनसहितको डस्टबिनको व्यवस्था गर्ने, खानेकुरा छोपेर राख्ने, एकपटक पकाईसकेको तेल, चियापत्ती पुन प्रयोग गर्न पाईदैन, खाना प्याक गर्दा पत्रिकाको प्रयोग नगर्ने, रङ्गको अत्याधिक प्रयोग नगर्ने, भाडाकुडा माझ्ने, शौचालय र किचेन सफासुघर गर्नुपर्ने, व्यक्तीगत सरसफाइ हुनुपर्ने, १८ बर्ष मुनिका बालबालिकालाई काम गराउन नपाउने र नागरिकता नभएको व्यक्तीलाई काममा लगाउन नपाईने जस्ता महत्त्वपूर्ण कुराको छलफल गरिएको थियो ।

यस्तै कच्चापदार्थ खरिद तथा भन्डारण गर्दा लेबल भएको, उत्पादन मिति, एक्स्पाएर मिति, मुल्य, लिकेज, ब्रेकेज छ छैन ध्यान दिएर हेर्ने र खरिद गर्दा सामानहरु भेज ननभेज छुट्टाछुट्टै झोलामा राख्नुपर्ने, ताजा तरकारी, फलफूल र माछा मासुको मात्र प्रयोग गर्ने जस्ता कुराहरु सबैले ध्यानदिएमा उपभोक्ताले स्वच्छता र गुणस्तर खाना पाउने आज सम्पन्न तालिममा जानकारी गराइएको थियोे ।

यसको पालना नगरेको खण्डमा अनुगमनको क्रममा कारबाहीको भागिदार हुने र कानुनी कारबाही अघि बढनेसमेत सो कार्यक्रममा उपस्थित व्यवसायी तथा प्रतिनिधिहरुलाई जानकारी गराईएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का महासचिव तबरेज आलमले गरेका थिए भने कार्यक्रम सञ्चालन उपभोक्ता हित संरक्षण मञ्च कलैया नगर कमिटीका सदस्य बिनोद पटेलले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको