आजबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौं, मुलुकमा पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजबाट क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजबाट मौसम सफा हुँदै जाने भएको हो ।
बिहीबारदेखि देशका अधिकांश भूभागको मौसम बदली भई हिउँदे वर्षा हुनाका साथै उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात भएको थियो ।
मौसमविद् सविना शाक्यका अनुसार अबको केही दिन कुनै मौसमी प्रणाली विकसित हुने सम्भावना छ । पश्चिमी वायुको प्रभाव हटेसँगै गर्मी शुरु हुने जनाइएको छ ।
काठमाडौँ वरपरका अग्ला डाँडामा हिउँ परेकाले आज बढी चिसो महसुस भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आइतबार १ दशमलव शून्य डिग्रीमा झरेको छ ।
काठमाडौँको न्यूनतम तापक्रम शनिबार ३ दशमलव ५ डिग्री सेल्सियस थियो । हाल देशको प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली छ ।
प्रदेश नं १ का पहाडी भूभागमा अपराह्न आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम १ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
प्रतिकृया दिनुहोस्