उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी

काठमाडौं, चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको हो ।
सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट आएको जानकारी अनुसार श्रीराम सुगर मिलले सबै रकम भुक्तानी गरिसकेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिएका छन् । उनका अनुसार श्रीरामले सबै रकम भुक्तानी गरे तापनि तीन वटा चिनी मिलले बक्यौता रकम भुक्तानी गरिरहेका छन् ।
मन्त्रालयलको तथ्याङ्कअनुसार इन्दिर सुगर मिलले मङ्गलबारसम्म रु ८३ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ । उक्त मिलको रु चार करोड ७० लाख बक्यौता रकममध्येमा खातामा रु एक करोड पचास लाख रकम जम्मा रहेको छ ।
यस्तै रु आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले रु पाँच करोड ११ लाख बक्यौता रकम किसानको खातामा पठाइसकेको छ भने उक्त मिलको खातामा रु तीन करोड ४० लाख रकम जम्मा रहेको उनले जानकारी दिए ।
अन्नपूर्ण सुगर मिलको रु १२ करोड ६३ लाख ७२ हजार बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई रु १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रतिकृया दिनुहोस्