May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता खम्बासिंह कुँवरको निधन

चितवन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको आज बिहान निधन भएको छ । 

मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, पिसाबथैलीको प्रोस्टेटलगायत  रोगबाट पीडित उनको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

एक साता अघिदेखि खम्बासिंहलाई अस्पतालमा राखेर उपचार गरिँदै आएको उनका पारिवारिक स्रोतले जानकारी दिएका छन् ।

भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार उनको बिहान ८ः४५ बजे निधन भएको हो । उनमा निमोनियाको समस्या पनि देखिएको अध्यक्ष अधिकारीले जनकारी दिएका छन् ।

उनको आजै पवित्र तीर्थस्थल देवघाटमा दाहसंस्कार गरिँदै छ । त्यसअघि नेकपा चितवनको पार्टी कार्यालयमा श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको जनाएको छ । 

श्रद्धाञ्जलि कार्यक्रममा कुँवरका राजनीतिक शिष्य नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समेत आउने कार्यक्रम तय भएको जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलिपछि आजै देवघाटमा अन्त्येष्टि गरिँदै छ । 

शीर्ष समाचार

धेरै पढिएको