
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय मुद्दाहरूमा राजनीतिक दलहरूलाई एकजुट हुन आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले भौगोलिक अखण्डताका लागि दलहरूबीच अभूतपूर्व एकता देखिएकोमा सरकार तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई धन्यवादसमेत दिएकि थिइन् । राष्ट्रपतिले सरकार प्रमुख तथा राजनीतिक दलका शीर्ष नेताहरूलाई बुधबार साँझ राष्ट्रपति निवास शीतल निवासमा बोलाई समसामयिक विषयमा छलफल गर्ने क्रममा उक्त धारणा दिएकी थिइन् ।
राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्न संविधान संशोधन गर्न दलहरूबीच देखा परेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू ज्यादै खुशी भएको भन्दै सबैलाई धन्यवाद दिएकी हुन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रदर्शित हुँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
यसविरुद्धको अभियानमा अग्रपङ्क्तिमा रहेर काम गर्ने डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले कोरोना प्रभावित बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छिन् । यसैगरी, राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्दै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न जोड दिएकी छन् ।





