January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

“मौलिक पर्वहरू प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन्” 

  • 18
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले नेपालका प्रचलित पर्वहरूका विविधता हाम्रा बहुमूल्य सम्पत्ति भएको चर्चा गर्नुहुँदै विविधताबीच सुदृढ एकता र सहिष्णुताको यस पुँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले थारू समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघे सङ्क्रान्तिका अवसरमा शुभकामना सन्देश दिनुहुँदै राष्ट्रको सुदृढ एकताको जगमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको चर्चा गरेका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक व्यवस्था तथा राज्यको नीतिद्वारा नै हाम्रा सांस्कृतिक विविधताको रक्षा गरिरहेको बताए ।

उनले भनेका छन्, “देशका हरेक जातिले मनाउने मौलिक पर्वहरू प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् ।” उनले माघीलाई थारू जातिको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइने चर्चा गरेका छन् ।
उनले थारू जातिमा पुस मसान्तमा घरघरमा माछा, मासु र ढिकरी (पिठोको एक परिकार) खाई रातभर ‘मघौटा’ नाच नाच्ने चलनसमेत रहेको बताएका छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले योग र औषधिजन्य वनस्पतिको प्रयोगलाई हरेक नागरिकको दैनिकीमा जोड्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाएर जनताको जीवनमा सुख ल्याउनकै लागि समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा तय गरिएको चर्चा गरेका छन् । उनले राष्ट्रिय योग दिवस–२०७७ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै भन्नुभएको छ, “शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक यसको आधारभूमि हो । ”

सभापति देउवाद्वारा शुभकामना
यसैगरी नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले माघे सङ्क्रान्ति एवं माघी पर्वका अवसरमा दिनुभएको शुभकामना सन्देशमा सामाजिक सद्भाव अभिवृद्धि गर्न यो पर्वले सबैलाई अभिप्रेरित गर्ने बताएका छन् ।

उनले नेपाल प्राचीन कालदेखि नै विभिन्न जातजातिको बसोबास भएको सङ्गम स्थल भएकाले यहाँका चाडपर्वको आफ्नै विशिष्ट पहिचान रहेको उल्लेख गरे ।

शीर्ष समाचार

धेरै पढिएको