
कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले कोरोना नियन्त्रणकै लागि शनिबार र आइतबार बिदा दिन सांसद भीमसेनदास प्रधानले माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लकडाउन खुकुलो बनाउँदा सवारी साधनहरुको चापसँगै सर्वसाधरणको चहलपहल बढेकाले शनिबार र आईतबार पनि सार्वजनिक विदा दिने व्यवस्था गर्न माग गरेका हुन् । सांसद मिनबहादुर विश्वकर्माले पनि लकडाउन अवधिलाई शून्य समय मानेर राहतको व्यवस्था गर्नुपर्ने बताए ।
बैठकमा बोल्दै उनले लकडाउनभरीको आर्थिक कारोवार र दायित्वबारे सर्वत्र विवाद, बहस र अन्योल देखिएकाले लकडाउन सुरुदेखि अन्तिम सम्मको अवधिलाई शून्य समय मानेर सबै बर्गलाई राहत पुग्ने गरि प्याकेजको व्यवस्था गर्नुपर्ने बताए । उनले लकडाउन सुरु गरेदेखि अन्तिम दिन सम्मको शून्य समय मानेर यो शून्य समयमा व्यापार व्यवसाय रहेको घरधनीले घरभाडा नलिने निर्णय गनुपर्नेमा जोड दिए । उनले भने घरधनीसँग बैंकले व्याज लिनुभएन। यो अवधिमा सरकारले कर नलिऔं । विद्यालयले विद्यार्थीसँग शुल्क नलिऔ। निजी विद्यालयका शिक्षकहरुलाई पनि सामुदायिक विद्यालयको शिक्षक सरह सरकारले तलब भुक्तानी गर्न र दैनिक वा मासिक ज्यालादारी गर्ने मजदुरलाई मासिक ७ हजार नगद राहत दिने व्यवस्था गर्नुपर्ने बताए ।





