“ओली नेतृत्व सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प हो”

गोरखा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् ।
सोमबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा पुगेका थापाले पत्रकारसँग कुराकानी गर्दै संसद विघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताएका हुन् ।
‘प्रतिनिधिसभा विघटनसम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता छ,’ उनले भने, ‘संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिएको छ, त्यसैले अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्छ ।’ प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन रहेकाले कोही कसैले पक्ष विपक्षमा जवाफ दिनु उपयुक्त नहुने उनले बताए ।
दिवसको अवसरमा गोरखा संग्रहालयमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसको रुपमा मनाउन सरकारलाई आग्रह गरेका छन् ।
उनले भने, ‘म विशेष गरी केपी ओलीलाई आग्रह गर्न चाहन्छु, यदी तपाईं इमान्दार राष्ट्रवादी हो भने पृथ्वी नारायण शाहको जन्म दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने घोषणा गर्नुस् ।’
प्रतिकृया दिनुहोस्