“सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?”: सभापति देउवा

काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतभन्दा ठूलो आम जनता भएको बताएका छन् । काठमाडौँको बूढानीलकण्ठमा शनिबार आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जनतामा जाँदा केही पनि नबिग्रने उनले बताएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले भने, “सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ ?” सभापति देउवाले निर्वाचनमा जाने फैसला आएमा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा प्रतिनिधि सभाको निर्वाचन गराउनेमा धेरै मानिसलाई शङ्का रहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओली आफैँ निर्वाचनको प्रचारमा गइसकेकाले ढिलो–चाँडो निर्वाचन हुने विश्वाससमेत देउवाले व्यक्त गरे । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले काँग्रेसले अदालतको निर्णय पर्खिने र त्यसलाई मान्ने बताएका छन् ।
सभापति देउवाले भने, “अदालतमा मुद्दा विचाराधीन भएकाले जुलुस निकालेर यो गर, ऊ गर भन्न हुँदैन, हामीले अदालतको निर्णय पर्खिनुपर्छ र अदालतको निर्णयलाई काँंग्रेसले मान्छ ।”
काँग्रेसले प्रतिनिधि सभा विघटनको विरोधमा शनिबार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा सभा आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधिमा जान गरेको कदमलाई सर्र्वोच्च अदालतले सदर गरेमा काँग्रेस चुनावमा जाने सभापति देउवाले बताए ।
प्रतिकृया दिनुहोस्