March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

“ओली संविधानको बाटो हिँडेको भए देश राजनीतिक अस्थिरताको भुमरीमा फस्ने थिएन”

काठमाडौं, कांग्रेस नेता प्रकाशमान सिंहले नेकपाभित्रको विवाद व्यवस्थापन गर्न नसकेको रिस प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा संसद् विघटन गरेर फेरेको बताएका छन् । प्रधानमन्त्री ओली संविधानको बाटोबाट हिँडेको भए मुलुक राजनीतिक अस्थिरताको भुमरीमा फस्ने स्थिति नआउने उनले बताए ।

संसद् विघटनको विरुद्धमा कांग्रेसले देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा गरिरहेको विरोध सभाअन्तर्गत काठमाडौं १ (क) मा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले असंवैधानिक बाटो अपनाएको बताएका हुन् ।

संविधान निर्माणका क्रममा राजनीतिक स्थिरताका लागि संविधानको धारा ७६ राखिएको सिंहको भनाइ थियो । उनले भने, ‘२०४७ सालको संविधानले जुन अस्थिरता ल्याएको थियो त्यसबाट पाठ सिकेर प्रधानमन्त्रीलाई भन्दा पनि व्यवस्थापिका संसद्लाई नै बढी अधिकार दिइएको हो,’ उनले थपे, ‘प्रधानमन्त्रीले संविधानको बाटोबाट हिँडेको भए मुलुक राजनीतिक अस्थिरताको भुमरीमा फस्ने थिएन ।’

उनले भने, ‘संवैधानिक बाटो छोडेर असंवैधानिक बाटो लागेको र आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको छ । हाम्रो नेतृत्वमा जारी भएको संविधान जोगाउन लाग्नुपर्छ ।’
पार्टी र संसदमा अल्पमतमा परेपछि प्रधानमन्त्रीले संसद्‍माथि रिस पोखेको धारणा नेता सिंहले राखे ।

शीर्ष समाचार

धेरै पढिएको