शरिरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्छ

काठमाडौं, फोहोरमैला व्यवस्थापन संघले वाग्मती सफाई महाअभियानको ४ सय हप्ता पुगेको अवसरमा काठमाडौंको मिनभवनमा शनिबार विशेष कार्यक्रम गरेको छ ।
२०७० जेठ ५ गते तत्कालिन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा शुरु भएको वाग्मती सफाई महाअभियानको आज (पुस २५ गते शनिबार) ४ सय हप्ता पुगेको हो । ‘‘स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान’’ नारा दिएर वाग्मती सफाई शुरु भएको थियो ।
कार्यक्रममा वाग्मती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै सरकारले वाग्मती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा कलाकार मनिषा कोइरालाले सबै नागरिकहरुलाई वाग्मती सफाइमा लाग्न आग्रह गरेकी थिइन् । नदीमा मिसाइदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने उनले बताइन् ।
कलाकार आनी छोइङ डोल्माले पनि शरिरलाई रक्त सञ्चारले सफा गरेजस्तै नदीलाई मानिसहरुले सफा गर्नुपर्ने बताइन् । वातावरणीय हिसाबले पनि नदी सफा राख्नुपर्ने उनको भनाई छ । कुनैपनि नदीमा ढल मिसाउने, प्लास्टिक फाल्ने, घरमा निस्कने फोहोर फाल्ने चलनको अन्त्य गर्नुपर्ने उनले बताइन् ।
प्रतिकृया दिनुहोस्