January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्यो

  • 16
    Shares

लमजुङ, लमजुङको जलविद्युत आयोजनामा चिसोका कारण आवश्यक पानी नहुँदा विद्युत् उत्पादन घट्न थालेको छ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यतिबेला विद्युत् उत्पादन घट्न थालेको हो ।

जिल्लाको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा ३६ मेगावाट विद्युत् उत्पादन घटेको हो ।

आयोजनाका लागि चाहिने पर्याप्त पानी मस्र्याङ्दी नदीमा नहुँदा उत्पादन घट्दै जाने क्रममा हाल ३४ मेगावाट विद्युत् मात्र उत्पादन भइरहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताएका छन् ।

उनले भने, “आयोजनामा पूरै क्षमतामा विद्युत् उत्पादन हुँदै आए पनि केही समयदेखि उत्पादन घट्दै गएको र अझै विद्युत् उत्पादन घटेर २७÷२८ मेगावाटसम्म पुग्नेछ ।” मध्यमस्र्याङ्दी ३५÷३५ मेगावाट क्षमताको दुई टर्बाइन गरी ७० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो ।

मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका केन्द्र प्रमुख शाहका अनुसार पानी कम भएकाले मङ्सिरको दोस्रो हप्ताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ ।

यस आयोजनामा विगतको वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण शुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन हुन थालेको थियो । रु २७ अर्ब २० करोड लागतमा आयोजना निर्माण भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको