January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

निर्वाचन आयोगमा निवेदन दिँदैमा वैधानिकता प्राप्त हुँदैन: प्रधानमन्त्री ओली 

  • 4
    Shares

काठमाडौं, प्रधानमन्त्री एवं नेकपा (ओली समुह) को अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको नेकपा आधिकारिक भएको दावी गरेका छन् । शुक्रबार प्रवासी नेपाली एकता मञ्चहरुले संयुक्तरुपमा आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन आयोगमा निवेदन दिँदैमा वैधानिकता प्राप्त नहुने बताएका हुन् ।


प्रधानमन्त्री ओलीले पार्टीको वैधानिकता निर्वाचन आयोगबाट नभई जनताबाट प्राप्त हुने पनि बताएका छन् । आधिकारिकता नपाउने देखेपछि दाहाल-नेपाल समूह कागज छातिमा टाँसेर यहाँ छौं भन्ने अवस्थामा पुगेको पनि उनको आरोप छ ।

उनले आफुविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा सभामुख अग्नी सापकोटाले किर्ते सनाखत गरेको आरोप पनि लगाएका छन् । संसदका प्रस्तावहरुलाई निर्णयार्थ पेश नगरेर सभामुखले छिमेकीसँगको सम्बन्ध पनि अप्ठेरोमा पारेको गुनासो उनको थियो ।

प्रधानमन्त्री ओलीले आफूले मेहेनतका साथ काम गरिरहेकाले धेरै चिन्ता लिनुपर्ने र निराश हुनुपर्ने अवस्था नभएको समेत दावी गरे । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले दाहाल-नेपाल पक्षको निवेदन रित नपुगेको भनेर फिर्ता गरेको पनि दावी गरे ।

उनले दाहाल-नेपाल समूहले निर्वाचन आयोग, अदालत, सडक, मिडियामा गएर तमासा देखाएको समेत बताए । सडकबाट घोषणा गरिएको बहुमतको कुनै अर्थ नहुने भन्दै प्रधानमन्त्री ओलीले त्यसको फैसला चुनावपछि हुने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले संवैधानिक प्रक्रिया अवरुद्ध गरेपछि संविधान कार्यान्वयन तथा रक्षाका लागि ताजा जनादेशमा जानुपरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको