संस्कृतिमा आधारित पर्वहरू सहिष्णुताका मौलिक पहिचान हुन: प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता नै मुलुकको मौलिक पुँजी भएको बताएका छन् ।
तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, “हाम्रा प्रचलित भाषा धर्म, संस्कृति, भेषभूषालगायतका विविधता हाम्रा बहुमूल्य पुँजी हुन् ।” उनले एकता र सहिष्णुताको यस पुँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले शुभकामना सन्देशमा भनेका छन्, “विभिन्न संस्कृतिमा आधारित पर्वहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ।” नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको चर्चा गर्दै उनले भनेका छन्, “विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्दै भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ ।”
प्रधानमन्त्री ओलीले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै एकता, सद्भाव र सहिष्णुतासहित समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा सरकार रहेको चर्चा गरेका छन् ।
प्रतिकृया दिनुहोस्