January 22, 2021, Friday
२०७७ माघ ९, शुक्रबार

७० वर्ष लडेर ल्याएका उपलब्धिमाथि कम्युनिस्ट पार्टी भित्रैबाट क्रुर प्रहार भयो: प्रचण्ड

  • 14
    Shares

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्ष लडेर प्राप्त गरेको उपलब्धिमाथि कम्युनिष्ट पार्टी भित्रैबाट क्रुर प्रहार भएको बताएका छन् ।

पार्टीको भातृ संगठनले आज केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजना गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरी संघर्षबाट प्राप्त उपलब्धिलाई खतरामा पारेको बताएका छन् ।  

दाहालले भने, ‘कम्युनिष्ट पार्टीभित्र ठूलो सांस्कृतिक, वैचारिक विचलन देखा पर्‍यो । हामीले ७० वर्ष लडेर ल्याएका उपलब्धिमाथि क्रुर प्रहार भएको छ, कम्युनिस्ट पार्टी भित्रैबाट । हामीले नै अगाडि बढाएको नेतृत्वबाट ।’

२०४७ सालको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिएको र त्यसको दुरुपयोग भएको कुराबाट शिक्षा लिएर अहिलेको संविधानमा त्यो अधिकार कटौती गरिएको अध्यक्ष दाहालको भनाइ थियो ।

‘प्रधानमन्त्रीको सनक चढ्यो भने संसद् विघटन गर्ने विगतको अभ्यासबाट पाठ सिकेर अहिलेको संविधानमा प्रधानमन्त्रीबाट संसद् विघटनको अधिकार खोसेका थियौं । त्यसमा स्वयम् केपी ओली पनि सहमत हुनुहुन्थ्यो,’ उनले भने, ‘पार्टीको कुरा होइन । सदनभित्र चार विकल्पसम्ममा जाँदा पनि कसैलाई बहुमत भएन भने मात्रै संसद् विघटन गर्ने भनिएको छ ।’ नेकपाभित्रको आन्तरिक विवादलाई लिएर संसद् विघटन गर्नु गलत भएको दाहालको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले आफूसँग संवैधानिक रूपमा नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेकाले संसद् जीवित रहेको दाहालको भनाइ थियो । ‘यो संवैधानिक प्रावधान अदालतले बुझ्दैन भन्ने हामी ठान्छौं भने त्यो अदालतको सम्मानप्रति अपमान ठहरिन्छ ठान्छु ।’ उनले भने ।

शीर्ष समाचार

धेरै पढिएको