April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

बङ्गलादेशबाट पुस महिनाभित्रै मल नेपाल ल्याउने तयारी अन्तिम चरणमा

ढाका, बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारले एलसी (लेटर अफ क्रेडिट) वा प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको सुरुवात हुनेछ ।

कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिएका छन् ।

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ ।

यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो । “विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ”, उनले भने ।

युरिया मलको ढुवानी हुनु दुईदेशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

शीर्ष समाचार

धेरै पढिएको