प्रधानमन्त्री ओलीद्वारा मन्त्रिमण्डल हेरफेर, ९ जना नयाँ सदस्य थप
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल हेरफेर रविस्तार गरेका छन् । पार्टीभित्रको विवादका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही मन्त्रीले राजीनामा दिएपछि रिक्त मन्त्रालय र अन्य मन्त्रालयमा सोही पार्टीका तर्फबाट नयाँ नियुक्ति तथा हेरफेर भएको हो । प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपेका छन् ।
पूर्व माओवादी समूहका ६ जनाले आज मन्त्रीको सपथ लिएका छन् । टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोले मन्त्री पदको सपथ लिएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्रीको सपथ लिएकी छन् ।
मन्त्रिमण्डल पूनर्गठन अनुसार रायमाझीलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिईएको छ भने मणि थापालाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको छ । त्यस्तै, प्रभु साहलाई शहरी विकास, प्रेम आलेलाई वन, गणेश ठगुन्नालाई सामान्य प्रशासन, गौरी शंकर चौधरीलाई श्रम, दावा लामालाई युवा तथा खेलकुद, जुली कुमारी महतोलाई महिला बालबालिका, विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।
त्यस्तै, यसअघि स्वास्थ्य मन्त्रालयको नेतृत्व गरेका भानुभक्त ढकाललाई पर्यटन मन्त्रालयमा सारिएको छ भने सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरिरहेका हृदयेश त्रिपाठीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
यसअघि महिला तथा बालबालिका मन्त्रालयको नेतृत्व गरेका लीलानाथ श्रेष्ठलाई कानुन मन्त्रालय र कानूनमन्त्रीको रुपमा काम गरेकी शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार र यसअघि भूमि व्यवस्था मन्त्रालयको नेतृत्व गरेकी पद्मा अर्याललाई कृषिविकास र सहरी विकासको जिम्मेवारीमा रहेका कृष्ण गोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
प्रतिकृया दिनुहोस्