
बाढी, पहिरो तथा डुबान लगायतका विपत्तीबाट जनधनको क्षति कम गर्न बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु भएको छ ।यस बर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला बर्षा सुरु भएको छ । बर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको उच्च जोखिम पनि बढ्दै गएको छ ।त्यस्ता खालका जोखिमबाट आम नागरिकको जीवन रक्षाका लागि असार १ गतेबाट बाढी पूर्वानुमान तथा पूर्व सूचना सेवा सुरु गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागकी प्रवक्ता डा.अर्चना श्रेष्ठका अनुसार असार १ गतेदेखि २४ घण्टे पूर्वसूचना सेवाको विस्तार गरिएको हो ।यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी पूर्व ससूचना मात्र दिने गरेको थियो । हाल विस्तार बाढी पूर्व सूचना मनसुन अवधिभर लागु हुने श्रेष्ठले जानकारी दिए । जस अनुसार हरेक दिन बिहान सात बजे प्रमुख नदीहरुको आगामी तीन दिनको बाढी प्रक्षेपण बुलेटिन विभागको http://www.hydrology.gov.np मार्फत जारी गरिनेछ ।
त्यस्तै मौसमका कारण उत्सर्जित बाढी सम्बन्धी पूर्व सूचना भने केही घण्टा अगाडि संवेदनशिलताका आधारमा नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय, विपद व्यवस्थापनमा संलग्न केन्द्रिय तथा स्थानीय निकाय र सरोकारवालाहरुलाई मोबाइल एसएमएसमार्फत सुचित गरिने विभागले बताएको छ ।
नेपाल फ्लुड एलर्ट नामको ट्विटर र फेसबुक सामाजिक सञ्जाल मार्फत पनि आवश्यकता अनुसार बाढी पूर्व सूूचना तथा बाढीजन्य अन्य सूचना सम्प्रेषण गरिने तय भएको छ । बिशेष भौगोलिक क्षेत्रको बाढी सम्बन्धी सतर्कताका लागि जानकारी प्राप्त गर्न सर्वसाधारणको लागि टोल फ्रि नम्बर ११५५ सञ्चालनमा ल्याइएको छ ।यि बाहेक मौसम पूर्वानुमान महाशाखा तथा बाढी पूर्वानुमान महाशाखाको फोन नम्बर तथा तिनका बेव साइटलाई पनि सक्रिय तुल्याइएको छ । गाेरखापत्र बाट







