March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने

  • 14
    Shares

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मुलुकभरका सामुदायिक विद्यालयमा अध्ययन विद्यार्थी, अभिभावक र शिक्षकलाई नि:शुल्क टेलिफोन र इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमसँगको सहकार्यमा ‘क्लोजर युजर ग्रुप’ बनाएर नि:शुल्क टेलिफोन, म्यासेज र इन्टरनेट सेवा दिन लागिएको हो ।

‘क्लोजर युजर गु्रप’ भन्नाले शिक्षण सिकाइ प्रयोजनका लागि विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकका बीच हुने सञ्चारको सञ्जालीकरण बुझ्नुपर्ने मन्त्रालयले प्रष्टाएको छ ।

मन्त्रालयले टेलिकमको सहयोगमा कोरोना महामारीको बेला वैकल्पिक कक्षा सञ्चालनका लागि न्यूनतम शुल्कसहित यी सेवा उपलब्ध गराएको थियो । मासिक ९९ रुपैयाँ तिरेर विद्यार्थी अभिभावक सेवा लिन अनइच्छुक भएपछि नि:शुल्क सुविधा दिन लागिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा विकास तथा मानवस्रोत केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालका अनुसार प्रत्येक विद्यालयका कक्षा पिच्छे शिक्षक, विद्यार्थी र अभिभावकको समूह बनाएर नि:शुल्क सेवा लिन सक्नेछन् ।

‘समूहभित्र जतिबेला पनि कुराकानी गर्न सकिन्छ, म्यासेज पठाउन सकिन्छ, पैसा लाग्दैन,’ उनले भने, ‘विद्यार्थी, अभिभावकले आफ्ना विषय शिक्षकलाई वा शिक्षकले विद्यार्थी, अभिभावकलाई टेलिफोन/म्यासेज गरेर सिकाइ सहजीकरण गर्न सक्नेछन् ।’ प्रत्यक्ष कक्षा सञ्चालन नभएको बेला नि:शुल्क टेलिफोन र म्यासेज सेवा शिक्षण सिकाइका लागि प्रभावकारी हुने मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

विद्यालयले शिक्षण सिकाइ सहजीकरण गर्न, नियमित गृहकार्य दिन, परियोजना कार्य र परीक्षण गर्न, विद्यार्थीको अनुगमन गर्न, प्रश्नोत्तर गर्न, मूल्यांकन गर्न, निर्देशन तथा परामर्श दिने लगायतका कार्य गर्न ग्रुप प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ ।

उक्त ग्रुपका सदस्यले हरेक महिना पाँच जीबी डाटा पनि नि:शुल्क पाउने छन् । डाटाको मद्दतले इन्टरेनट चलाएर ‘वेब पोर्टल लर्निङ डट सिइएचआरडि डट इडियु डट एनपी’ मा उपलब्ध भएका शैक्षिक सामाग्री अध्ययन तथा डाउनलोड गर्न सकिनेछ् ।

शीर्ष समाचार

धेरै पढिएको