January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

प्रज्ञा प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने

  • 1
    Share

काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको ‘नेपाल सामाजिक शास्त्र/संस्कृति/दर्शनशास्त्र पुरस्कार’ प्रा डा वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा डा तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।

एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

बैठकले रु दुईदुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालङ्कार सम्मान’ चीनका प्रा वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले डा महेशराज पन्त र प्रा डा सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । बैठकले गत आवको खर्च पारित गर्दै चालु आवका लागि रु १९ करोड ५० लाखको बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको