January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

गुणस्तरहीन सामान बिक्री गरेपछि तीन खाद्य उद्योगमाथि मुद्दा चलान, अनुगमन तिव्र

  • 2
    Shares

लहान, गुणस्तरहीन सामान बिक्री गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मुद्दा चलाएको छ ।

अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगविरुद्ध मुद्दा चलाएको हो ।

तीनवटै उद्योगविरुद्ध खाद्य ऐन, २०२३ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा मुद्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिएका छन् ।

यसैबीच बजारमा कालोबजारी बढेको जनगुनासोपछि सिरहामा खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरु गरिएको छ । कालोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न, सरल र सहजरूपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सिरहाको प्रमुख बजारमा रहेको खाद्यान्न तथा मिठाइ पसलको अनुगमन शुरु गरिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजारलगायतका बजारमा थालिएको अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गुज्रेका सामान बरामद गरी नष्ट गरिएको प्रमुख सिंहले जानकारी दिए ।

पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको उनले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको