April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

राष्ट्रपतिद्वारा पशुपतिमा क्षमासहित विशेष पूजा, भोलिबाट भक्तजनलाई मन्दिर खुला

file photo

काठमाडौं, भक्तजन तथा सर्वसाधारणका लागि नौ महिनासम्म बन्द गरिएको पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेकी छन् ।

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न आज बिहान राष्ट्रपति भण्डारीले पूजा गरेकी हुन् ।

सोही अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताएका छन् ।

यसैगरी पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको छ । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा थापाले बताए । नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको जनाउँदै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिकरुपमा विरोध प्रदर्शन गर्दै आएका थिए ।

पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि आज अपराह्न पशुपति प्राङ्गणमा विशेष पूजाआराधना गर्ने तयारी गरेका छन् । लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको जनाइएको छ ।

कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिर दर्शन गर्न चाहने भक्तजनलाई अनिवार्यरुपमा मास्क लगाएर आउन आह्वान गरेको छ । भीडभाड नगरी दर्शन गरेर फर्कन पनि कोषले अनुरोध गरेको छ

शीर्ष समाचार

धेरै पढिएको