January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

ज्ञानभूमिका रूपमा परिचित नेपाल सिङ्गो हिमवत्खण्डको गौरव हो: प्रधानमन्त्री ओली

  • 2
    Shares

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले प्राचीन कालदेखि नै ज्ञानभूमिका रूपमा परिचित नेपाल सिङ्गो हिमवत्खण्डको गौरव भएको र यस भूमिबाट नै विकसित भएका अनेकौँ दर्शन, सभ्यता र ज्ञानभण्डारले आज पनि विश्वमा प्राज्ञिक नेतृत्व गरिरहेको यथार्थलाई हामीले भुल्नु नहुने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५ औँ प्राज्ञसभालाई पठाउनु भएको भिडियो सन्देशमा प्रम ओलीले सो कुर्स बताएका हुन् । सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, विश्वकै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शनलगायत ज्ञान विज्ञानको उद्गम भूमि हाम्रो देश नेपालको गरिमालाई अनेकौँ विविधताभित्र लुकेको एकतापूर्ण सामाजिक संरचना र आपसी सद्भावपूर्ण सौन्दर्यले अझै उचाइ प्रदान गरेको छ ।

यहाँको भौगालिक, प्राकृतिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विशिष्टता नै हाम्रो मौलिक चिनारी हो, जुन विश्वका लागि अद्भुत लाग्ने गर्दछ । मानवीय अन्तःप्रज्ञालाई जागृत गराउँदै त्यसैका माध्यमबाट घर, छिमेक, समाज, राष्ट्र र विश्वलाई नै सत् मार्गमा हिँडाउन सक्ने प्राज्ञिक सामथ्र्यमा नै प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाहरूको प्रतिष्ठा र गौरव निर्भर रहन्छ भन्दै उहाँले मन्तव्यमा यी सबै कुराको प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान र प्रकाशन गरी नेपाल र नेपालीको सम्पत्तिलाई विश्वसामु पस्कने कुरामा नेपाल प्रज्ञा–प्रतिष्ठान सफल हुने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।

सम्बाेधनकाे पूर्णपाठ

श्री कुलपति तथा प्राज्ञ सभाका अध्यक्षज्यू,
नेपाल प्रज्ञा–प्रतिष्ठान
कमलादी, काठमाडौँ ।
विषयः ३५ औँ प्राज्ञ सभाको सफलताको शुभकामना ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ३५ औँ प्राज्ञ सभा आयोजना गर्न लागेकामा मलाई खुसी लागेको छ । नेपालका भाषा, साहित्य, संस्कृति, कला, दर्शन, सामाजिक शास्त्र, विज्ञान आदि विषयको अध्ययन, अनुसन्धान, संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले आजभन्दा ६३ वर्ष अगाडि स्थापित यस प्राज्ञिक संस्थाले उद्देश्यअनुरूप गति लिइरहेको पाउँदा मलाई सन्तोष लागेको छ ।
प्राचीन कालदेखि नै ज्ञानभूमिका रूपमा परिचित नेपाल सिङ्गो हिमवत्खण्डको गौरव हो । यस भूमिबाट नै विकसित भएका अनेकौँ दर्शन, सभ्यता र ज्ञानभण्डारले आज पनि विश्वमा प्राज्ञिक नेतृत्व गरिरहेको यथार्थलाई हामीले भुल्नु हुँदैन । विश्वकै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शनलगायत ज्ञान विज्ञानको उद्गम भूमि हाम्रो देश नेपालको गरिमालाई अनेकौँ विविधताभित्र लुकेको एकतापूर्ण सामाजिक संरचना र आपसी सद्भावपूर्ण सौन्दर्यले अझै उचाइ प्रदान गरेको छ ।
यहाँको भौगालिक, प्राकृतिक, बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक विशिष्टता नै हाम्रो मौलिक चिनारी हो, जुन विश्वका लागि अद्भुत लाग्ने गर्दछ । नेपालको पूर्वी भागमा विकसित कौशिकी र किराँत सभ्यता, मध्य भागमा विकसित बागमती र गण्डकी सभ्यता र पश्चिमी भागमा विकसित कर्णाली सभ्यताले युगौँयुगसम्म यस ज्ञानभूमिलाई उज्यालो प्रदान गरिरहने कुरामा कुनै दुई मत छैन । यसरी नै स्वप्नद्रष्टा, ज्ञानद्रष्टा एवं युगद्रष्टा ऋषिमुनिहरूको साधना भूमिका रूपमा रहेको हिमाली र पहाडी क्षेत्र अनि राजर्षि जनक, मन्त्रद्रष्टा याज्ञवल्क्य र गार्गी तथा ज्ञानगौरव अष्टावक्र जस्ता तपस्वीहरूको गरिमा बोकेको तराई क्षेत्र एकै ठाउँमा हुनु नेपालका लागि प्राप्त अमूल्य वरदान हो । त्यसै क्षेत्रमा जन्मिनुभएका गौतम बुद्धका शान्ति, अहिंसा, करुणा र सहिष्णुताका शिक्षा एवं मानव मूल्यहरू आजको विश्वमा झनै सान्दर्भिक बन्दै गएको स्मरण गर्न पाउँदा हामीलाई गर्वानुभूति हुन्छ । त्यसैले यो भूमि अनगिन्ती ज्ञानको भण्डार हो भन्ने तथ्यलाई इतिहासले प्रमाणित गरिसकेको छ ।
यसरी प्राप्त ऐतिहासिक गौरवको ज्ञान नयाँ पुस्तासम्म पु¥याउनु र प्राप्त सम्पदाको रक्षा गर्नु वर्तमानको सबैभन्दा पहिलो दायित्व हो, जसको जगमा उभिएर हामी अगाडि बढ्न सक्छौँ । आजको परिवर्तित समाजमा प्रत्येक नेपालीमा समानता, स्वतन्त्रता, मानवता, भातृत्व, विश्वबन्धुत्व र सद्भावपूर्ण सहअस्तित्वको भावना जागृत हुनु आवश्यक छ । साथै, देशलाई सुख, शान्ति र सर्वाङ्गीण विकासका माध्यमबाट समृद्धिको शिखरमा पु¥याउनुपर्ने छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपनाभित्र इतिहासले हामीलाई प्रदान गरेको ज्ञान र वर्तमानले अपेक्षा गरेको विज्ञान दुबैको समष्टिगत उपस्थिति अपेक्षित छ । यहाँका प्रत्येक वनस्पतिमा अपार औषधि लुकेको छ । यहाँका नदीमा बग्ने पानीका थोपा थोपामा अनन्त सञ्जीवनीहरू छन् । यहाँको हावामा वेदध्वनि गुन्जायमान् छ । यहाँका हरेक खोँच, पाखा र फाँटहरूमा अनगिन्ती महाकाव्यहरू लुकेका छन्, विश्वलाई दृष्टि दिनसक्ने आख्यान, नाटक र निबन्धका विषयहरू छन् र हाम्रा प्राचीन ग्रन्थहरूमा अहिलेको विश्व चियाउने सूक्ष्मदर्शी यन्त्रहरू छन् ।
वेद र उपनिषद्हरूले उद्घोष गरेका सङ्गच्छध्वं, संवदध्वं, सं वो मनांसि जानताम् ९सँगै जाऔँ, सँगै बोलौँ, राम्रो बालौँ, सँगै एकअर्काको मन बुझौँ०, सह नौ भुनक्तु, सह नाववतु, सह वीर्यं करवावहै ९सँगै खाऔँ, सँगै एकअर्काको रक्षा गरौँ, सँगै वीरता वा पौरख प्रदर्शन गरौँ०, मित्रस्य चक्षुषा समीक्षे, मित्रस्य चक्षुषा समीक्ष्यन्ताम् ९म मित्रका आँखाले हेर्छु, तपाईंहरू पनि मित्रकै आँखाले हेर्नुहोस्० भन्ने जस्ता युगजयी अमर सूक्तिहरू हाम्रा सम्पत्ति हुन् । यही माटोमा जन्मिएका बोन, बौद्ध, ब्रह्म, शैव, शाक्त, साङ्ख्य, न्याय र योगजस्ता अनेकौँ दर्शनका गहिरा दृष्टिहरूले आज मात्र होइन, युगौँयुगसम्म विश्वदर्शनको नेतृत्व गरिरहने कुरामा कुनै विवाद छैन । यस्तो ज्ञानलाई बुझ्न र यसको मीमांसा गर्न पनि मान्छेमा अन्तःप्रज्ञा हुनुपर्दछ । यस्य नास्ति स्वयं प्रज्ञा शास्त्रं तस्य करोति किम् ९जुन व्यक्तिमा स्वयम् प्रज्ञा छैन, शास्त्रले त्यसलाई के नै पो गरिदिन सक्छ र रु० यो त्यसै भनिएको होइन । त्यसैले मानवीय अन्तःप्रज्ञालाई जागृत गराउँदै त्यसैका माध्यमबाट घर, छिमेक, समाज, राष्ट्र र विश्वलाई नै सत् मार्गमा हिँडाउन सक्ने प्राज्ञिक सामथ्र्यमा नै प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाहरूको प्रतिष्ठा र गौरव निर्भर रहन्छ भन्ने म ठान्दछु । यी सबै कुराको प्राज्ञिक विमर्श, अध्ययन, अनुसन्धान र प्रकाशन गरी नेपाल र नेपालीको सम्पत्तिलाई विश्वसामु पस्कने कुरामा नेपाल प्रज्ञा–प्रतिष्ठान सफल हुने छ भन्ने विश्वास पनि मैले लिएको छु ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले कानुनतः निर्धारित भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिक शास्त्रजस्ता विषय र क्षेत्रसँग सम्बन्धित विभिन्न विधाहरूको अध्ययन, अनुसन्धान, गोष्ठी, सम्मेलन, कार्यशाला र प्रकाशनका माध्यमबाट राष्ट्रका प्राज्ञिक आकाङ्क्षाहरूलाई परिपूर्ति गरिरहेको छ । परिवर्तित समाजको अपेक्षाअनुसारका नवीन कृतिहरूको प्रकाशन, पूर्वप्रकाशित तर हाल अप्राप्य अवस्थामा रहेका महत्त्वपूर्ण कृतिहरूको पुनः प्रकाशन र युगको मागअनुसारका प्राज्ञिक सामग्रीहरूको उत्पादनमा प्रज्ञा–प्रतिष्ठानले सन्तोषजनक कार्यसम्पादन गरिरहेको जानकारी मैले पाएको छु । आज विश्वका सामु नेपाल र नेपालीलाई चिनाउने आधिकारिक र प्रामाणिक ग्रन्थको आवश्यकता छ । नेपाल प्रज्ञा–प्रतिष्ठानले सङ्घीय संरचनाअनुसार वर्तमान सातव्टा प्रदेशको र समग्र देशकै अद्यावधिक इतिहास लेखन गरी ‘नेपाल दर्पण’ नामक ग्रन्थ प्रकाशन गर्ने योजना बनाएर कार्यारम्भ समेत गरिसकेको कुराले मलाई हर्षित तुल्याएको छ । ११० औँ महाकवि देवकोटा जयन्तीका अवसरमा मैले नै घोषणा गरेको देवकोटा सङ्ग्रहालयको निर्माणसम्बन्धी गौरवपूर्ण योजनालाई प्रज्ञा–प्रतिष्ठानले योजनाबद्ध रूपमा अगाडि बढाएको जानकारी मलाई प्राप्त भएको छ । यो सम्पूर्ण सिर्जनाकर्मीहरूका लागि अत्यन्त खुसीको कुरा हो । साथै, अग्रजहरूको सम्मान गर्ने गौरवशाली कार्यको थालनी पनि हो । यसरी नै नेपालको प्राज्ञिक गौरवलाई विश्वसामु पु¥याउने र विश्वको ज्ञानबाट नेपाल लाभान्वित हुने गरी अन्तर्राष्ट्रिय सांस्कृतिक सम्बन्ध स्थापनाका लागि प्रज्ञा–प्रतिष्ठानले गरेका प्रयासहरू अझै सफल हुँदै जाउन् भन्ने शुभेच्छा पनि व्यक्त गर्दछु । यी र यस्तै प्रकारका गौरवपूर्ण कार्यहरू र नेपाल प्रज्ञा–प्रतिष्ठानले अवलम्बन गर्ने विभिन्न प्राज्ञिक महत्त्वका नीति, योजना र कार्यक्रमहरूलाई सम्पादन गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी पनि गराउँदछु ।
अन्त्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५ औँ प्राज्ञ सभाको समुद्घाटन समारोहमा चाहना हुँदाहुँदै पनि प्राविधिक कारणले उपस्थित हुन नसकेको हुनाले मैले प्रविधिको प्रयोग गर्नुपरेको यहाँहरूमा अवगत नै छ । अहिले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० ले विभिन्न क्षेत्रमा पारेको नकारात्मक प्रभावको यथार्थ सबैसामु छर्लङ्गै छ । यसबाट सांस्कृतिक क्षेत्र पनि पक्कै प्रभावित भएको छ, तापनि समस्याभित्रबाट सम्भावनाको खोजी गर्नु प्राज्ञिक क्षेत्रको मूलभूत दायित्व हो । यस्तो दायित्वबोध प्राज्ञिक क्षेत्रले गरेकै हुनुपर्दछ । प्रज्ञा–प्रतिष्ठानको यस ऐतिहासिक दिनमा सम्पूर्ण प्राज्ञ, लेखक, साहित्यकारहरूको हित र उन्नतिको अपेक्षाका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५ औँ प्राज्ञ सभाको पूर्ण सफलताको कामना गर्दछु ।
धन्यवाद ।
केपी शर्मा ओली
प्रधान मन्त्री
नेपाल सरकार
२०७७ मङ्सिर ३० गते, सोमवार

शीर्ष समाचार

धेरै पढिएको