January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

चितवन राष्ट्रिय निकुञ्जको १० गोही राप्ती नदीमा छोडियो

  • 10
    Shares

चितवन, चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका गोही नदीमा छाडिएको छ । हरेक वर्ष यो बेला नदीहरुमा गोही छाड्ने गरिन्छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार सोमबार १० वटा गोही राप्ती नदीमा छोडिएको हो । निकुञ्जको मुख्य कार्यालय कसरा नजिक नदीमा ती गोही छोडिएको हो । यस आर्थिक वर्षमा १०० गोही नदीमा छाड्ने लक्ष्य रहेको उनले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

ती सबै गोही राप्तीमा छोडिँदै छ । गत वर्ष ५० गोही नदीमा छाडिएको थियो । राप्ती र नारायणी नदीमा गोहीले पारेका अण्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लग्ने गरिन्छ । ती अण्डा र प्रजनन केन्द्रका गोहीले पारेका अण्डा कोरलेर बच्चा हुर्काउने गरिन्छ ।

पाँच वर्षपछि ती बच्चा नदीमा छोडिँदै आएको छ । हाल छोडिएका गोही छ वर्ष उमेरका हुन् । सन् १९७८ मा केन्द्र स्थापना भएपछि गोहीको बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छाड्न थालिएको हो । प्रजनन केन्द्रमा हुर्किएका योसहित एक हजार ५२५ गोही विभिन्न नदीमा छोडिएका छन् ।

सबैभन्दा बढी ८४५ गोही राप्तीमा छाडिसकिएको छ । नारायणीमा ३९९, कालिगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छाडिसकिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको