January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

लामा र श्रेष्ठ विवादमा ओलीको सुझाव “गल्लीका कुकुर भुकिरहन्छ पछाडी लाग्ने होइन” 

  • 26
    Shares

काठमाडौं, नेकपाका दिवंगत नेता तथा पुर्व राजदुत कमानसिंह लामा र याम्बलिङ हाइड्रोपावरबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार भेटवार्ता गरेकी छन् ।

सो भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको सुसनका पति लक्ष्मणकृष्ण राजभण्डारीले जानकारी दिएका छन् । सुसन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रमुख सहयोगी (पिए) हुन् । उनी हाल याम्बलिङ हाइड्रोपावरको अध्यक्ष पनि हुनुहुन्छ ।

कमानसिंहको निधनपछि हाइड्रोपावर र लामा परिवारभित्रको विवाद मिडियाहरुमा आएका थिए । साथै एक–अर्कालाई मिलाउन भूमिका खेलेका आफूलाई पनि विवादमा मुछिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

यसै सन्दर्भमा कुरा गर्न कर्माचार्य आफ्ना श्रीमान् र छोरीसहित आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार जानुभएको थियो । प्रधानमन्त्री ओलीसँग यस विषयमा कुराकानी गरेको कर्माचार्य परिवारले जनाएको छ ।

सो क्रममा प्रधानमन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाब दिनुभएको सुसनका पति लक्ष्मणले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
‘गल्लीमा कुकुर भुकिरहन्छन्, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विनाटेन्सन हिँडिरहनुपर्छ’, ओलीको भनाइ उदृत गर्दै उहाँले जानकारी दिनुभएको छ ।

राजभण्डारीले फेसबुकमा लेखेका छन्ः

मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको विचमा रहेको विवादमा ने.क.पा. का प्रवक्ता श्री नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर र मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजे बाट ३:४५ सम्म, म, मेरो श्रीमती(सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्री श्री के. पि. शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौँ। प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामले यस वारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अन्लाईनहरुले जे पनि लेख्छ यसको पछी लाग्नु हुँदैन, गल्लिमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय ब्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो। हाम्रो परिवार सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ।

शीर्ष समाचार

धेरै पढिएको