March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

अहिलेको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ: गृहमन्त्री थापा

चितवन, गृहमन्त्री रामबहादुर थापाले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधि केही समूहका मृगतृष्णा मात्रै भएको बताएका छन् ।

प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पछिल्लो समय कोभिड–१९ ले उत्पन्न गरेको सङ्कटबाट संविधानविरोधी शक्ति व्यवस्था र संविधानलाई उल्ट्याउने अवसर आएको निष्कर्षमा पुगे पनि तिनको सपना पूरा नहुने स्पष्ट गरेका छन् ।

नेपाली जनताले उनीहरुको सपना कदापि पूरा हुन नदिने उनको भनाइ थियो । उनले अहिले भैरहेको मतभेदले सरकारलाई थप सुदृढ बनाउने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य थापाले पार्टीभित्रको अन्तरविरोध स्वाभाविक प्रक्रिया भएको बताउँदै भने, “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने विश्वास उनले व्यक्त गरेका हुन् ।