January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

संसदीय निगरानी र कानुन कार्यान्वयन प्रभावकारी हुनुपर्छ: सभामुख सापकोटा

  • 1
    Share

काठमाडौं, सभामुख अग्निप्रसाद सापकोटाले कानुन निर्माण, संसदीय निगरानी र कानुन कार्यान्वयनलाई सङ्घीय संसद्ले प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । चौधौँ संसद् सेवा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानुन कार्यान्वयन, बजेट कार्यान्वयनको अवस्थामा संसद् चनाखो हुनुपर्ने बताएका हुन् ।

सभामुख सापकोटाले निगरानी र कानुन कार्यान्वयन मापन लगायतका कामलाई प्रभावकारी बनाउन रूपान्तरित रूपबाट संसद्को कामकारबाही अगाडि बढाउन आवश्यक रहेको बताउँदै संसद्लाई प्रभावकारी र रूपान्तरणका लागि पदाधिकारीसँगै कर्मचारीको सहयोगको आवश्यकता रहेको पनि बताए ।

उनले भने, “कानुन निर्माण, संसदीय निगरानी र कानुन कार्यान्वयनका विषयमा हामी सदैव चनाखो हुनुपर्छ । निगरानी र कार्यान्वयनलाई प्रभावकारी बनाइनुपर्छ । हामीले बनाएका कानुन कार्यान्वयन मापनसँगै बजेट कार्यान्वयनको अवस्थाबारे पनि हामीले सदन र समितिबाट चासो राख्नुपर्छ ।” संवैधानिक व्यवस्थाका कारण पुसको १७–१८ गतेसम्म अधिवेशन बोलाइनुपर्ने भएकाले आवश्यक तयारी भइसकेको बताउँदै उनले नयाँ ढङ्गबाट रूपान्तरित भएर संसद् चलाउने पनि बताए ।

औपचारिक र परम्परागत ढङ्गको सट्टा रूपान्तरणको आवश्यकता रहेको उल्लेख गर्दै उनले राज्यका तीन निकायमध्ये व्यवस्थापिकाले भूमिका अझै महìवपूर्ण र अधिक रहेको बताए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारले तय गरेको स्वास्थ्य मापदण्ड अपनाएर अधिवेशन चाँडै सुरु हुने बताए । स्वास्थ्य चुनौतीबीच विगतका अनुभवसमेत हेरेर बैठक सञ्चालन गरिने उनको भनाइ छ । यसअघि पनि कोरोनाकै कारण बजेट अधिवेशन चाँडै अन्त्य गर्नुपरेको तर अब संवैधानिक बाध्यताका कारण पनि अधिवेशन चाँडै आह्वान हुने उनले स्पष्ट पारे ।

संविधानले अङ्गीकार गरेको व्यवस्था कार्यान्वयनमा संसद्को भूमिका महत्त्वपूर्ण रहेको अध्यक्ष तिमिल्सिनाले बताए । सङ्घीयता कार्यान्वयनका कानुन निर्माणमा पहिलो सङ्घीय संसद्को भूमिका अधिक रहेको पनि उनले स्पष्ट पारे । प्रदेश र स्थानीय तहलाई मार्गदर्शनको कानुन बनाएर निकास दिनुपर्ने दायित्व पनि सङ्घीय संसद्सँग भएकाले हिउँदे अधिवेशनलाई त्यसतर्फ पनि केन्द्रित गर्नुपर्ने उनको भनाइ छ । कोरोना न्यूनीकरण र नियन्त्रणमा सरकारसँगै सबै तहका जनप्रतिनिधि र जनताले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाको धारणा छ ।

शीर्ष समाचार

धेरै पढिएको