January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

देशव्यापी प्रदर्शनमा मास्क प्रयोग र भौतिक दूरी कायम गर्न देउवाको आह्वान

  • 1
    Share

काठमाडौं, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि तय भएको देशव्यापी प्रदर्शनमा कोरोना जोखिमलाई ख्याल गर्दै मास्क प्रयोग गर्न र भौतिक दूरी कायम गर्न आह्वान गरेका छन् । भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आउँदो संसदमा काँग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले बताएका हुन् । 

प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै  आएपनि सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेकाले सडकमा आउनु परेको देउवाको भनाइ छ । 

‘प्रतिपक्षका रूपमा नेपाली काँग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्‍यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ’, आइतबार देउवाले जारी गरेको अपीलमा भनिएको छ, ‘सरकारप्रतिको वितृष्णा मुलतः अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।’

देउवाले प्रदर्शनको तयारीमा जुटेका सबै तहका नेता कार्यकर्तालाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन अपील गरेका छन् । ‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ?’, देउवाले प्रश्न गरेक छन् । 

मुलुकलाई हरेक चुनौतीको घडीमा निकास र नेतृत्व दिएको दल काँग्रेस भएको भन्दै देउवाले प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा पार्टी गम्भीर रहेको बताएका छन् ।  

शीर्ष समाचार

धेरै पढिएको