January 21, 2021, Thursday
२०७७ माघ ८, बिहीबार

मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको समयमा सम्पन्न नहुने

  • 1
    Share

काठमाडौँ, कोरोनाका कारण काममा पुगेको बाधाले मेलम्ची खानेपानी आयोजनाको ‘हेडबक्स’ निर्माण तोकिएको अवधिमा सम्पन्न नहुने भएको छ । बन्दाबन्दीको समयमा निर्माण सामग्री र जनशक्ति दुवैमा समस्या भएको आयोजनाले जनाएको हो ।

सुरुङसँगै ‘हेडबक्स’ को बाँकी काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष असोजमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मेवारी दिएको थियो । तोकिएको अवधि आगामी पुसमा सकिने नदेखिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताएका छन् ।

उनका अनुसार कोभिडका कारण ढिलाइ भएका आयोजनामा छ महिना अवधि थप्न सकिने सरकारको निर्णयका आधारमा थप्न लागिएको हो । उनले भने, “चैतसम्ममा आयोजनाले काम सम्पन्न गर्छ भन्ने हामीलाई लागेको छ ।”निर्माण कम्पनीले आगामी चैतबाट पानी पथान्तरण नै गर्न सकिने बताएको सूचना अधिकारी पन्तले जानकारी दिए ।

उनका अनुसार गत असारमा सुरुङको परीक्षणका क्रममा अस्थायी बाँधबाट पानी सुरुङमा पठाइएको थियो । अहिले आयोजनाले पुनः पानी पथान्तरण गर्ने योजना बनाइरहँदा ‘हेडबक्स’ निर्माण सकिएमा त्यसैबाट पथान्तरण गर्न सकिनेछ ।

बन्दाबन्दीका कारण घर फर्किएका कतिपय कामदार आउन नसकेको र निर्माण सामग्री ल्याउन कठिनाइका कारण सामान्य अवस्था जसरी काम हुनसकेको थिएन ।

निर्माण कम्पनीले उपलब्ध जनशक्ति र सामग्रीबाट निर्माण गरिरहेको थियो । स्थानीयवासी र स्थानीय तहले आयोजनाका कारण कोभिड–१९ को जोखिम भएको भन्दै बन्द गर्न भनिरहँदा पनि आयोजना सञ्चालन थियो ।

शीर्ष समाचार

धेरै पढिएको