January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारीमा काठमाडौं महानगर

  • 1
    Share

काठमाडौं, काठमाडौँ महानगरपालिकाले ब्रुमरले सङ्कलन गरेको धुलोबाट इँटा बनाउने तयारी गरेको छ ।

कामपाले झण्डै दुई वर्षदेखि सडकमा ब्रुमरको सहायताले धुलो सङ्कलन गरी सडक सफा गर्ने काम गरिरहेको छ । हालसम्म करीब छ हजार ५०० टन धुलो जम्मा भइसकेको छ ।

यसरी जम्मा गरिएको धुलो व्यवस्थापन गर्न समस्या भएको र उपयोग गर्न सकिने भएकाले इँटा बनाउनेबारे सम्बन्धित व्यक्तिसँग कामपाले छलफल गर्न थालेको छ । हाल यसरी सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको छ ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले निर्माणका विषयमा छलफल र स्थान पहिचानको कुरा भइरहेको छ । कामपाले हरेक दिन सात बु्रमरले सडक सफा गर्ने काम गरिरहेको छ । महानगरले सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो ।

विसं २०७५ फागुन २८ गते इटालीबाट रु १० करोड ८० लाखमा ल्याइएका उक्त बु्रमर सञ्चालनका लागि कामपाले पाँच मार्ग निर्धारण गरेको छ । सोही मार्गअनुरुप काम भइरहेको छ । पानी पर्ने समयमा काम गर्न समस्या भए पनि अन्य समयमा भने काम नियमित भइरहेको कामपाको भनाइ छ ।

सडकका मुख्य स्थान नयाँसडक, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायत स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत भएका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरबाट सडक सफा गरिँदै आएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको