April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

कपिलवस्तुमा शीतलहरबाट जोगिने तयारी

कपिलवस्तु, जिल्लामा शितलहर बढेसँगै यसबाट जोगिनको लागि विपदसम्बन्धी कार्ययोजना बनाएर अगाडि बढ्नु पर्ने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा जिल्ला विपद व्यवस्थापन समितिको बसेको बैठकमा प्रजिअ पौडेलले विपदसम्बन्धी कार्ययोजना नबनाएका स्थानीय तहले तत्कालै योजना बनाएर कार्यन्वयनमा ल्याउन निर्देशन दिएका हुन् ।

शितलहरबाट बढी प्रभावित हुने ११ जिल्ला मध्ये कपिलवस्तु पनि रहेको छ । शितलहरबाट प्रभावित हुने जिल्लाहरु सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, सुनसरीको दक्षिणी भाग, नवलपरासी पश्चिम र कपिलवस्तु रहेका छन् ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगलप्रसाद थारुले प्रत्येक वर्ष समुदायिक वनसँग सहकार्य गरेर चोक चोकमा दाउरा बाल्ने, विद्यालयमा रहेका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्ने लगायतको कार्य गर्दै आएको र यो वर्ष पनि जारी राख्ने बताए ।

त्यस्तै शिवरज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले नगरभित्र रहेका ८० वर्ष भन्दा माथिकालाई कम्बल बाँड्ने योजना रहेको जानकारी दिए । साथै चोक चोकमा दाउरा बाल्नको लागि सामुदायिक वनहरुसँग सहकार्य भइसकेको उनले बताए ।

सो कार्यक्रममा विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापाले न्यानो लुगा लगाउने र ओढ्नेका लागि गाउँपालिकाबाट योजना रहकोे बताए । अध्यक्ष थापाले विगत तीन वर्षमा पाएका बाहेकलाई न्यानो कपडा वितरण गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले जाडोबाट प्रभावितलाई राहत वितरण गर्दा एकद्धार प्रणालीबाट वितरण गर्नु पर्ने बताए ।

सो अवसरमा बोल्दै तौलिहवा अस्पतालका मेसु डा. किशोर बन्जाडेले अस्पतालमा ओषधीको समस्या नरहेको जानकारी दिए भने कपिलवस्तु नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिरेप चौधरीले कपिलवस्तु नगरपालिकाले विपदको लागि विपद कोष नै खडा गरेको बताए ।

जिल्लाका विभिन्न स्थानबाट प्राकृतिक प्रकोपजन्य घटनाका कारण राहत माग गरी दिएको निवेदनअनुसार जिल्ला प्रकोप व्यवस्थापन कोषबाट १६ जनालाई १५ हजारको दरले रहत दिने, जिल्लामा सर्पदंशका कारण मृत्यु भइ राहत माग गर्न निवेदन दिएका शिवराज नगरपालिका १ की आरती विक र बाणगंगा नगरपालिका ११ का राजु लम्साललाई राहतका लागि आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा पठाउने निर्णय भएका छ । त्यस्तै, कृष्णनगर नगरपालिका क्षेत्रभित्र वर्षातको समयमा बढीले काटन गरी क्षति भएको क्षति न्यूनीकरणका लागि गृह मन्त्रालय, आन्तरिक ममिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा पठाउने निर्णय भएको प्रजिअ पौडेलले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारी सशस्त्र प्रहरी उपरिक्षक ध्रुव कार्की, डिभिजन वन कार्यालय तौलिहवाका डिभिजन प्रमुख ईश्वरी पौडेल, नेपाल रेडक्रम सोसाइटि तौलिहवाका मन्त्री रिंकु श्रीवास्तव, तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मी, स्थानीय संघ संस्थाका प्रमुख एवम् प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको