January 17, 2021, Sunday
२०७७ माघ ५, सोमबार

पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक जना गम्भीर घाइते

  • 3
    Shares

पाँचथर, पाँचथरमा मोटरसाइकल दुर्घटना हुँदा हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ भने सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् ।

मृत्युहुनेमा हिलिहाङ गाउँपालिका–१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन रहेका छन् ।

मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकल सहित उनीहरुलाई दुर्घटनाग्रस्त अवस्थामा स्थानीयवासीले आज बिहान फेला पारेका थिए ।

प्रहरी र स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याइएकामा कालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान छ । मोटरसाइकल सडकबाट करिब ३० मिटर तल झरेको पाइएको छ । मध्यरात दुर्घटना स्थानीयवासीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रकासूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । 

शीर्ष समाचार

धेरै पढिएको