January 15, 2021, Friday
२०७७ माघ ३, शनिबार

विप्लव नेता सापकोटा छुटेलगत्तै पुनः पक्राउ, नुवाकोटबाट काभ्रे पठाईयो

  • 1
    Share

काठमाडौं, विप्लव नेकपाका नेता छविलाल सापकोटा छुटेलगत्तै पुनः पक्राउ परेका छन् । स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटेलगत्तै फेरि पक्राउ परेका हुन् ।

बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको आगजनी घटनामा संलग्न अभियोग मुद्दामा मङ्गलबार नुवाकोट जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलले साधारण तारिखमा रिहा गर्न आदेश दिएलगत्तै शर्मालाई प्रहरीले पक्राउ गरेर काभ्रे पठाएको हो ।

मङ्सिर १८ गते ललितपुरबाट पक्राउ गरेर नुवाकोट ल्याइएको विप्लव समूहका नेता शर्माले मदानपुरको स्काभेक्टर आगजनीमा संलग्नताको ‘भरपर्दो प्रमाण नभएको’ भन्दै अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो ।

चितवनको रत्ननगरका शर्मालाई गत वैशाख २३ मा त्यहाँको प्रहरीले उपचारका क्रममा अस्पतालबाटै पक्राउ गरेको थियो । भदौ २३ गतेसम्म पुर्पक्षका लागि थुनामा रहेको समयमा भदौ ७ मा मदानपुरमा स्काभेक्टर आगजनीमा संलग्नता रहेको दाबी विश्वासिलो नभएको आधारमा शर्मालाई साधारण तारिखमा छाड्ने आदेश भएको थियो ।

साधारण तारिखमा छुटेलगत्तै अदालत परिसरबाटै पक्राउ परेका शर्मालाई गए राति नै काभ्रे पठाइएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । उनका अनुसार शर्मालाई काभ्रेमा सङ्गठित अपराध, एनसेल टावर आगजनीलगायतको अभियोग छ ।

गत वैशाख २३ मा चितवनबाट पक्राउ परेका शर्मा भदौ २३ मा त्यहाँबाट छुटेलगत्तै पक्राउ गरेर धनुषा, सुनसरी, भोजपुर, सङ्खुवासभा, मोरङ, काठमाडौँ, ललितपुर हुँदै नवौँ जिल्लाको रूपमा नुवाकोट ल्याइएको थियो ।

आफूलाई लगाइएको अभियोग कहीँ पनि पुष्टि गर्ने आधार नभएकाले राजनीतिक पूर्वाग्रहीका रूपमा राज्यले झुटा मुद्दा लगाई फसाउन खोजेको उनको प्रतिक्रिया छ ।

शीर्ष समाचार

धेरै पढिएको