January 22, 2021, Friday
२०७७ माघ १०, शनिबार

४२ करोडको लगानीमा निर्माण सम्पन्न भएको नयाँ टर्मिनल भवन सञ्चालनमा

  • 2
    Shares

जनकपुरधाम, जनकपुर विमानस्थल सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मङ्गलबार सो विमानस्थलको अत्याधुनिक नयाँ टर्मिनल भवन तथा कन्ट्रोल टावर उद्घाटन गरेसँगै नयाँ स्वरूप सञ्चालनमा आएको हो ।

छ कट्ठा क्षेत्रफलमा स्टिल स्ट्रक्चरको टर्मिनल भवन र छ तले कन्ट्रोल टावर निर्माण गरिएको जनकपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । कुल ४२ करोड रुपियाँको लागतमा निर्माण भएको उक्त टर्मिनल भवन छ सय यात्रु रहन सक्ने क्षमताको छ ।

साथै ८० वटा कार र १५० मोटरसाइकल पार्किङ सुविधा तथा ३५ सुरक्षाकर्मीका लागि आवास गृहसमेत निर्माण गरिएको छ । आठ वर्षअघि २०६९ कात्तिकमा १८ करोड रुपियाँको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री पोष्टबहादुर बोगटीले उक्त टर्मिनल भवन शिलान्यास गर्नुभएको थियो ।

डेढ वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कम्पनी पप्पु एन्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो । प्राविधिक समस्या तथा रकम अभावका कारण टर्मिनल भवन निर्माण कार्य लम्बिएको हो ।

उद्घाटन समारोहमा मन्त्री भट्टराईले अन्तरप्रदेश सञ्जाल बढाउन सरकारले टर्मिनल भवन निर्माणमा जोड दिएको बताएका छन् । उनले यसको स्वामित्व सङ्घीय सरकारमा भए पनि तीनवटै सरकारको समन्वय र सहयोगले यसको निर्माण कार्य पूरा भएकोमा खुसी व्यक्त गरे ।

मन्त्री भट्टराईले आउने दिनमा यसलाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न नयाँ अत्याधुनिक टर्मिनल भवन तथा कन्ट्रोल टावरले मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । आगामी दिनमा एक हजार छ सय मिटरको धावन मार्ग निर्माण र जग्गाको व्यवस्थापन गर्न उनले स्थानीय सरकारसँग आग्रह पनि गरे ।

शीर्ष समाचार

धेरै पढिएको