January 27, 2021, Wednesday
२०७७ माघ १४, बुधबार

बुटवलमा प्रहरीको पेस्तोल खोसेर खाग तस्करले चलाए गोली, एक जना घाइते

  • 16
    Shares

बुटवल, बुटवलको एक होटलमा तस्करहरु बसेको विशेष सूचनाका आधारमा होटलमा पुगेको प्रहरीमाथि तस्करले गोली चलाएका छन् । गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन् ।

बुटवलको मिलनचोकमा आइतबार बिहान राजमार्ग चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएका १ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ । तस्करले चलाएको गोली उनको चिउडोमा लागेर उनी घाइते भएका हुन् । उनको परिचय नखुलेको प्रहरी स्रोतले जनाएको छ ।

पेस्तोल खोसिएका प्रहरी भने सकुशल छन् । होटलमा बसेकाहरूले खाग तस्करी गरेर ल्याएको सूचनाका आधारमा होटलमा गएको प्रहरीकै पेस्तोल खोसेर गोली चलाएका थिए । तस्करमध्येका एकजनाले हानेको गोलीले तस्कर समूहकै अर्का एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन् । बुटवलमा प्रहरी परिचालन गरेर उनीहरुको खोजी तीब्र पारेको प्रहरीले जनाएको छ । गैडाको खाग भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको