March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

अबको सातदेखि दश दिनभित्रमा नेपाल–भारत उडान सञ्चालनमा आउने

काठमाडौं, कोरोना महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल–भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

नेपाल–भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

उनले भने,“उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ, यो सब गरी बढीमा दश दिनजति समय लाग्छ उडान शुरु हुन ।” सहसचिव लामिछानेका अनुसार शुरुआती चरणमा काठमाडौँ–दिल्ली दुई उडान मात्रै हुनेछन् । एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन् । पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ ।

कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो ।

छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो । गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको