March 7, 2021, Sunday
२०७७ फाल्गुन २३, आईतवार

बर्दिबासमा प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था सामान्य बन्दै

  • 2
    Shares

महोत्तरी, स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच चारबुँदे सहमति भएपछि महोत्तरीको तनाव क्रमशः सामान्य बन्दै गएको छ ।

बर्दिबासमा छ वर्षीया बालिकाको अपहरणपछि हत्या गरिएको भन्दै सोविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु घटनाले थप आन्दोलित भएको महोत्तरीमा सम्बद्ध पक्षबीच चारबुँदे सहमति भएपछि अवस्था क्रमशः सामान्य बन्दै गएको हो ।

बुधबार साँझ बर्दिबासमा नागरिकस्तरमा गठित वार्ता समिति र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालबीच पीडितलाई क्षतिपूर्ति दिने, दुवै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्ने, प्रहरीको गोली लागेर मृत्यु भएका सञ्जयलाई शहीद घोषणा गर्ने र प्रदर्शनमा घाइते भएकालाई उचित उपचार खर्चको व्यवस्था गर्ने विषयमा गृहमन्त्रालयलाई आग्रह गर्ने सहमति भएको हो ।

सो चारबुँदे सहमतिको नागरिकस्तरमा गठित वार्ता समितिका संयोजक चिरञ्जीवी हमाल र जिल्लाका प्रमुख जिल्ला अधिकारी कटुवालले पुष्टि पारेका छन् ।दुवै पक्षबीच प्रदर्शनका कार्यक्रम रोक्ने र भएका सहमतिको कार्यान्वयनका लागि गृहमन्त्रालयमा पहलकदमी बढाउने टुङ्गो भएको छ ।

यद्यपि जिल्लाका अन्य भेगमा प्रदर्शन रोकिए पनि बर्दिबास नगरका छिटफुट ठाउँमा अझै टायर बाल्ने र सवारी साधन रोक्ने काम भइरहेको यात्रुले गुनासो गरेका छन् । सहमतिपछि सडक अवरोध गर्नेसँग समितिको सम्बद्धता नरहेको संयोजक हमालले स्पष्ट पारे ।

गत आइतबार अपहरणपछि हत्या गरिएकी बर्दिबास-१४ की छ वर्षीया बालिका गुलाव शाह (गुलवशा) खातुनका हत्यारालाई हँदैसम्मको कारवाही र मङ्गलबार बर्दिबासमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास-१ का बुद्धिराज (सञ्जय) न्यौपानेलाई शहीद घोषणा गर्दै क्षतिपूर्ति र घाइतेको उपचार खर्चको माग गर्दै बुधबार बर्दिबासका अतिरिक्त जिल्ला सदरमुकाम जलेश्वर, सम्सी, सीतापुर र गौशालासहितका ठाउँमा प्रदर्शन भएका थिए ।

गत आइतबार अपहरणमा परेर हत्या गरिएकी बालिकाको शव प्रहरीले सोमबार मध्यरातमा उनको घर नजिकै बोरामा खाँदिएको अवस्थामा बरामद गरेको हो । यस घटनामा प्रहरीले गौशाला नगरपालिका-५ का २६ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरी अनुसन्धान थालिसकेको छ ।

शीर्ष समाचार

धेरै पढिएको